काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले यसैपालिबाट किसान पेन्सन सुरु गर्ने प्रयास हुने बताउनुभएको छ ।
सांसदहरूले प्रतिनिधिसभामा उठाएका प्रश्नहरूको जवाफ दिँदै उहाँले भन्नुभयो, ‘किसानले जति पनि उत्पादन हुन्छ त्यसको केही पेन्सनका लागि राख्नुपर्ने हुन्छ । सरकारले १० प्रतिशत राख्छ ।’
किसान पेन्सनका लागि सरकारले कार्यविधि बनाउने उहाँले बताउनुभयो । सबै किसानको परिचय पत्र बनाउने, त्यसपछि कस्ता किसानलाई पेन्सन दिने भनेर वर्गीकरण गरेर पेन्सन दिन सुरुवात गरिने उहाँले बताउनुभयो । ‘यसैपालिबाट किसानलाई पेन्सन दिने कुरा बजेटमा गरिएको छ । हामी चाहन्छौँ यसैपालिबाट किसान पेन्सन दिनुपर्छ यसका लागि कार्यविधि बनाउनुपर्ने, छलफल गर्नुपर्ने छ ।’
आर्थिक वर्ष २०७९-८० को बजेटमा अर्थमन्त्री जनार्दन शर्माले किसानलाई पेन्सन दिने कार्यक्रम ल्याउनुभएको थियो । यो कार्यक्रम अनुसार हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत सरकारले जम्मा गरिदिनेछ । कोष स्थापना गर्न विउ पुँजीका रुपमा १ अर्ब छुट्याइएको छ । किसान परिचयपत्रका आधारमा सार्वजनिक सेवामा छुट दिइने समेत बजेट वक्तव्यमा उल्लेख छ ।