काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ कल्याणी खड्काले पार्टीले सरकारमा नयाँ मन्त्री पठाउने गरेको निर्णय सम्मानजनक नभएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै खड्काले मन्त्री सिफारिस गर्दा महिलालाई छुटाएको भन्दै निर्णय सच्चिनेमा विश्वास व्यक्त गर्नुभयो । यस अगाडिको मन्त्रिपरिषद्मा पनि नेकपा एसबाट महिलाको ३३ प्रतिशत सहभागिता नभएको भन्दै उहाँले यसपाली भनै गलत निर्णय भएको बताउनुभयो ।
आफूले निर्णय भइसकेपछि मात्रै थाहा पाएको बताउँदै खड्काले यसप्रति पार्टीले गम्भीर भएर सोच्नुपर्ने बताउनुभयो । यसपटक आफ्नो चर्चा भएपनि पार्टीले छुटाएको बताउँदै उहाँले कार्य क्षमता र दक्षताका आधारमा निर्णय गर्न नसकेको दाबी गर्नुभयो । भर्खरै विद्रोह गरेर आएको पार्टीभित्र सबैलाई मिलाएर जान सक्नुपर्ने उहाँको धारणा छ ।
नेकपा एकीकृत समाजवादीले चारजना मन्त्रीको नाम सिफारिस गरिसकेको छ । उक्त सूचीमा महिलाको सहभागिता नभएको भन्दै यसअघि अनेमासंघले आपत्ति जनाएको थियो । यो निर्णयमा पुनर्विचार गर्दै महिला सहभागिता अनिवार्य गर्न संघले माग पनि गरेको छ ।