काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले बिदा अस्वीकृत भएपनि खटाइएको स्थानमा हाजिर नहुने अडान लिनुभएको छ ।
पोखरेलले कानुनी लडाईंका लागि माग गरेको थप १० दिनको बिदा अस्वीकृत भएसँगै उहाँले हाजिर नहुने बताउनुभएको हो ।
एआईजी पोखरेलका एक कानुनी सल्लाहकारले आइजिपीले बिदा अस्वीकृत गरेपनि प्रहरी मुख्यालय वा खटाइएको स्थानमा हाजिर नहुने बताउनुभयो । पोखरेलको भनाई उदृद गर्दै ती सल्लाहकारले भने, ‘जसकाविरुद्ध मुद्दा हालिएको हो र जेका लागि मुद्दा हालिएको हो, त्यसको निरूपण नै भएको छैन । जबसम्म अदालतबाट त्यसको निरूपण हुँदैन, हाजिर हुने कुरा न आउँदैन ।’
पोखरेलले मंगलबारमात्रै प्रहरी मुख्यालयमा पत्र पठाएर थप १० दिन बिदा माग गर्नुभएको थियो । यसअघि एक महिने बिदामा बसेका पोखरेलले थप १० दिन बिदा माग गरेपछि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले पोखरेलको बिदा अस्वीकृत गर्दै तत्काल हाजिर हुन निर्देशन दिनुभएको थियो । त्यसपछि पोखरेलले कानुनी सल्लाहकारमार्फत आफू हाजिर नहुने बताउनुभएको थियो ।
प्रहरी महानिरीक्षक सिंहले तत्काल हाजिर हुन निर्देशन दिएपछि हाजिर नभएमा उनीमाथि स्पष्टीकरण सोधी विभागीय कारबाहीसम्म गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई रहन्छ । यस विषयमा समेत पोखरेलले परामर्श लिइसकेको बताइएको छ ।
पोखरेलको मुद्दा अबको ५ दिनमा नै पेसीमा चढी फैसला आउने अपेक्षा गरिएको कारण त्यस अगावै स्पष्टीकरण सोधी कारवाही गर्नसक्ने सम्भावना भने निकै कम छ ।