काठमाडौं । आज जेठ १९ गते राजदरबार हत्याकाण्ड भएको दिन । २०५८ साल जेठ १९ गते राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुने गरी राजपरिवारका सदस्य र आफन्तको एकै ठाउँमा हत्या भएको थियो ।
हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुतीसहित १० जनाको ज्यान गएको थियो । हत्याकाण्डको २१ वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन । जनताले तत्कालीन समयका सभामुख तारानाथ रानाभाटको संयोजकत्वको प्रतिवेदनलाई पत्याएका छैनन् । राजनीतिक र भीभीआइपी हत्याकाण्ड हरेक देशमा रहस्यमा रहने गरेको डा. सुरेन्द्र केसीको भनाइ छ ।
उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोलीले उडाएको र पछि आफैलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । डा. केसीका अनुसार चार हजार सुरक्षाको बीचमा परमाधिपति मारिँदासम्म ढाकछोप गर्नु घटना रहस्यमै राख्नु हो ।
तत्कालीन समयमा चरेस सेवन गरी पूर्व युवराज दीपेन्द्र शाहले गोली चलाएको बाहिरिएपछि प्रहरीबाट पूर्वडिआइजी हेमन्त मल्लले समेत त्यसको अध्ययन गर्दै प्रतिवेदन पेस गर्नुभएको थियो । उहाँले छानबिन समितिले गहिराइमा गएर अध्ययन नगरेको र प्रहरीलाई जिम्मा दिँदा सत्यतथ्य बाहिर आउने बताउनुभयो ।
चरेसले मान्छेलाई झुम्म पार्ने, भ्रम गर्ने र युवराज दीपेन्द्रको बानी पनि रिसालु स्वभाव रहेकोले घटना भएको हुनसक्ने मल्लको भनाइ छ ।
नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्यसँगै गणतन्त्र स्थापनाको घोषणा भयो । हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई संग्राहलय बनाएर सर्वसाधारणका लागि खुला गरिएको छ ।