काठमाडौं । नेपाली कांग्रेसले तारा एयरको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आज शोक वक्तव्य जारी गर्दै दुःख प्रकट गर्नुभएको हो ।
चालक दलका तीनसहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । जहाजमा सवार सबै यात्रुको निधन भएको छ । कांग्रेसले दुर्घटनामा जीवन गुमाउने विमान चालक, सहचालक, परिचारिका र यात्रुहरू सबैमा श्रद्धाञ्जली व्यक्त गरेको छ । प्रवक्ता महतले मृतकका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभयो ।
नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न पनि कांग्रेसले सरकारसँग माग गरेको छ ।
दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शव फेला परेको छ । फेला परेका शवमध्ये १० वटा शवलाई तल बेनी–जोमसोम सडक खण्डमा पर्ने कोवाङमा झारिएको छ । खराब मौसम र अप्ठ्यारो भूगोलमा उद्धारकर्ताले शव बोकेर झार्नुपर्ने भएकोले समस्या देखिएको छ ।
शवहरू भीरमा छरिएकाले संकलन गर्न समस्या भएको उद्धारमा खटिएका स्थानीय इन्द्रसिंह शेरचनले बताउनुभयो । फेला परेका शवको पहिचान भने भइसकेको छैन । कोवाङ झारिएका शवको प्रहरीले पोस्टमार्टम तथा मुचुल्का बनाउन थालेको छ ।
उद्धारमा संलग्न एक सैनिकका अनुसार फेला परेका शवमध्ये १० वटा तल बस्तीमा झारिएको छ । बाँकी ल्याउने क्रम जारी छ । तल ल्याइएका शवको मुचुल्का तयार पारी शव काठमाडौं ल्याउने तयारी भइरहेको छ ।