काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ ।
पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा बिहीबारको बैठकमा टिप्पणीमा जवाफ दिने क्रममा उद्योग वाणिज्यमन्त्री दिलेन्द्र बडुले आलोचनात्मक टिप्पणी गरेपछि एमालेले सांसद्हरुले बैठकमा अवरोध गरेका हुन् ।
मन्त्री बडूले सम्बोधन गरिरहँदा एमाले सांसद्हरुले सुरुमा नियमापत्ति गरेका थिए । एमाले सांसद खगराज अधिकारीले सुरुमा आपत्ति जनाउनुभएको थियो ।
अधिकारीले उठेर विरोध गरेपछि सभामुख अग्नि सापकोटाले समय दिनुभएको थियो । लगत्तै जवाफ दिने क्रममा बडूले निरन्तर ओलीमाथि आलोचनात्मक टिप्पणी गरेपछि एमाले सांसदहरू उठेका थिए ।
प्रमुख सचेतक विशाल भट्टराईले प्रमुख विपक्षी दलका नेतामाथि भएको टिप्पणी गलत भएकाले रेकर्डबाट हटाउन माग गर्नुभयो ।
त्यसपछि पुनः अधिकारीले मूल्य समायोजनका लागि छानबिन समिति गर्न माग गर्दै मन्त्री बडूले बोलेका आपत्तिजनक शब्द नहटाएसम्म संसद् चल्न नदिने चेतावनी दिनुभएको छ । त्यसपछि सभामुख सापकोटाले रेकर्ड हेरेर आवश्यक प्रक्रिया पुरा गर्ने बताउनुभयो ।