काठमाडौं । सामुदायिक विद्यालयको पाठ्यपुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा सामाग्री केन्द्रले समयमा पुस्तक छपाइ गर्न नसक्दा लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको छ । जेठ १ गतेदेखि शैक्षिक सत्र सुरु भएपनि विद्यार्थीहरूले पाठ्यपुस्तक पाउन सकेका छैनन् ।
कहिले मतपत्र छपाइ त कहिले रुस-युक्रेन युद्धको कारण देखाउँदै जनक शिक्षा सामाग्री केन्द्र पन्छिँदै आएको छ । निजी क्षेत्र नेपाल मुद्रण उद्योग महासङ्घले आधारभूत तह कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइकालागि सरकारसँग आग्रह गरेपनि त्यो सफल हुन सकेन ।
कामको भार रहेको जनक शिक्षा सामाग्री केन्द्रलाई ४ कक्षादेखि माथिका पुस्तक छपाइका लागि दिइयो, निजी क्षेत्रले १ देखि ३ कक्षासम्मको मात्रै जिम्मा पाए । कक्षा १ देखि ३ सम्मको किताब बजारमा जति पनि रहेको र कक्षा पाँचसम्मको छपाइका लागि सरकारसँग आग्रह गर्दा नदिएको छापाखाना व्यवसायी दीपक भण्डारीको भनाइ छ ।
नेपाल मुद्रण उद्योग व्यवसायी महासङ्घका महासचिव कमल पोखरेलका अनुसार कक्षा १ देखि ३ सम्मको पुस्तक बजारमा पर्याप्त रहेको छ । यदि कुनै ठाउँमा नपुगेको गुनासो आए २४ घण्टाभित्र पुर्याउने पोखरेलको भनाइ छ ।
जनक शिक्षा सामाग्री केन्द्र र नेपाल मुद्रण उद्योग महासंघबीच पाठ्यपुस्तक छपाइको विषयलाई लिएर कुकुर बिरालोजस्तै अवस्था छ । निजी क्षेत्रले जनक शिक्षाको बिना कारण बेइजती गरेको र कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तक पनि बजारमा पुर्याउन नसकेको जनक शिक्षा सामाग्री केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्य बताउनुहुन्छ ।
शिक्षा मन्त्रालयले निजी क्षेत्र र जनक शिक्षा सामाग्रीलाई पाठ्यपुस्तक छपाइको जिम्मेवारी सही रुपमा बाँड्न नसक्दा समस्या उत्पन्न भइरहेको छ । जनक शिक्षाले लामो समयदेखि पाठ्यपुस्तक छपाइको काम गरिरहेको र निजी क्षेत्रलाई आवश्यक परे छपाइ गर्न पनि नदिने प्रावधान रहेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माको भनाइ छ ।
हरेक वर्ष पाठ्यपुस्तक छपाइको विषयलाई लिएर निजी क्षेत्र र शिक्षा मन्त्रालयबीच जुहारी भइरहँदा विद्यार्थी मर्कामा परेका छन् । यतिसम्मकी जनक शिक्षाले नेपाल मुद्रण उद्योग महासङ्घले आफूहरूको बदनाम गरेको बताउँदै आएको छ, भने मुद्रणले जिम्मा पाए १५ दिनभित्र पाठ्यपुस्तकको छपाइसक्ने दाबी गर्दै आएको छ ।
निजी क्षेत्रलाई प्रोत्साहन गर्नु राज्यको दायित्व भएपनि संस्था जोगाउने नाममा हरेक वर्ष पुस्तकको हाहाकार हुँदै आएको छ ।