काठमाडौं – राजनीतिमा प्रवेश गरेपछि सत्तामा पुग्ने र जहिले पनि शक्तिमा रहने दल र ती दलका नेताहरुको मानसिकताले मुलुकको राजनीति फरक दिशातिर तानिएको छ । देशका कैँयौ स्थानहरुमा स्वतन्त्र र यूवा नेताहरुको राजनीतिमा उदय भएको छ ।
मुलुकको संघीय राजधानी काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम गरिरहँदा यसले परिवर्तनको झल्को दिएको छ । संघीय राजधानीको महानगरमा स्वतन्त्र उम्मेदवारले फड्को मार्दा राजनीतिक दलहरुलाई नैतिक दबाब परेको छ ।
आगामी दिनमा देशैभर यसको पर्नसक्ने असरबारे आंकलन गर्न थालिएको छ । विद्यामान राजनीतिक प्रणाली र अनुहारप्रति जनता निराश भएकोले पूरै व्यवस्था बदलिने तर्फ मुलुक अघि बढेको राजनीतिक विश्लेषक पुरञ्जन आर्चायको भनाइ छ ।
कैलालीको धनगढी, धरानलगायतका ठूला शहरहरुमा रहेका मतदाताको रोजाई स्वतन्त्र उम्मेदवार पर्नुले राजनीतिक प्रवृत्तिमा फेरबदलको संकेत गरेको छ । संख्या र प्रतिशतका हिसाबले थोरै देखिएपनि यसको असर क्रमशः बढ्दै जाने पक्का छ ।
विशेष गरी राजनीति आफ्नै परिवारका पुस्तामा हस्तान्तरण गर्ने, परिवार वरिपरि मात्रै घुमाउनाले जनता र कार्यकतामा वितृष्णा पैदा हुँदै गएका राजनीतिक विश्लेषकको भनाइ छ । सक्षम र वैचारिक व्यक्ति राजनीतिक केन्द्रमा उदाउन नसक्दा जनताको बहुमतले फरक बाटो लिने राजनीतिक तथा आर्थिक विश्लेषक परितोष पौडेलको भनाइ छ ।
बेला बखत पार्टीमा रुष्ट भएर स्वतन्त्र उम्मेदवार उठ्ने गरेका विगतका नजीर छन् । तर, अहिलेको अवस्थामा काठमाडौंजस्तो नगरमा स्वतन्त्र यूवाले जनताको माया पाउनु चानचुने कुरा पक्कै होइन ।
जनताले परिवर्तन चाहेकोले दलहरुपनि त्यसको विकल्पमा जान नसक्ने र एउटै निर्वाचनले सबै दल आटडेटेड भए भन्न नमिल्ने एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईको भनाइ छ ।
आफ्नो विरासत जोगाइराख्न गरिने विभिन्न खाले तिगडमकाविरुद्ध स्वतन्त्र उम्मेदवार टाउको दुखाइको विषय बन्दै गएका छन् । यहीँ अवस्था कायम रहे मुलुकभर नयाँ शक्ति उदय हुने र जनताको मत बटुल्ने स्थिति नआउला भन्न सकिन्न ।