Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

अधिकृत छोडेर मेयरमा उम्मेदवारी दिएका गिरीको जमानत जफत, फेरि अधिकृतको जागिर खाँदै

अधिकृत छोडेर मेयरमा उम्मेदवारी दिएका गिरीको जमानत जफत, फेरि अधिकृतको जागिर खाँदै

  • बिहिवार, जेठ ५ २०७९

  • 531
    SHARES

  • अधिकृत छोडेर मेयरमा उम्मेदवारी दिएका गिरीको जमानत जफत, फेरि अधिकृतको जागिर खाँदै

     

    काठमाडौं – २२औं पटकमा लोकसेवाको परीक्षा दिएर नेपाल विद्युत प्राधिकरणको अधिकृत बनेका कञ्चनराज गिरीले गत चैतमा राजीनामा दिए । सरकारी जागिरबाट राजीनामा दिएर उनले बनेपा नगरपालिकाको मेयरमा उम्मेदवारी थिए।

    लोकसेवाको परीक्षाजस्तै राजनीतिको उनको पहिलो परीक्षामा पनि उनले असफलता व्यहोर्नु परेको छ।

    बिहीबार बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उनको जमानत जफत भएको छ। नेपाली कांग्रेसका शान्तिरत्न शाक्यले १३७९३ मत ल्याएर मेयर जित्दा पुतली चिन्ह पाएका गिरीले १४८ मत पाए।

    आफ्नो हारको कारण नेपालको दलीय व्यवस्था रहेको उनको भनाइ छ।

    उनले उम्मेदवारी दर्ता गर्नुअघि नै प्रचार–प्रसार थालिसकेका थिए। आफू घरदैलोमा जाँदा जो मानिसले केही गर्नुपर्छ भनेर प्रोत्साहन र हौसला दिएका थिए, तिनै मानिसहरू पछि पार्टीको झन्डा बोकेर र्‍यालीमा गएको देख्दा निराशा भएको उनले बताए।

    पूर्वतयारी बिना उम्मेदवारी दिँदा केही कुरा सिकेको र सो कुराले पछि सहयोग पुग्ने उनले बताए।

    उसो त उनी प्रचार(प्रसार गर्ने सानो टोली भएका कारण सबै घरमा जान नभ्याएको पनि उनको जिकिर छ।

    ‘बनेपामा लगभग १३ हजार घरधुरी भएको र सबै ठाउँमा आफैं पुग्न सम्भव भएन,’ उनले भने, ‘त्यसैले पनि मतमा असर पर्‍यो।’

    सरकारी जागिर छाडेर राजनीतिमा लागेको भनेका गिरीले अहिले फेरि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको अधिकृतमा नाम निकालेका छन्।

    विद्युत प्राधिकरणमा अन्तर्वार्ता दिएकै दिन उनले प्रतिष्ठानमा लिखित परीक्षा दिएका थिए। प्राधिकरणमा नाम निस्किएला भन्ने उनले सोचेका थिएनन्।

    अब उनी फेरि सरकारी जागिर खान जाँदै छन्।

    ‘जिविकोपार्जनको लागि केही न केही गर्नुपर्छ,’ उनले भने, ‘त्यसमाथि यो मैले खान पाउने अन्तिम सरकारी जागिर पनि हो। उमेरको हकबन्दीका कारण पछि चाहेर पनि खान पाउँदिनँ। यसबाट पनि अनुभव बटुल्न चाहन्छु।’

    उनी अहिले ३५ वर्षका भए।

    पाँच वर्षपछि हुने स्थानीय चुनावमा फेरि मेयर लड्ने योजना रहेको उनले सुनाए।

    अहिलेको राजनीतिक स्थिति बदल्न काम गर्ने नयाँ पुस्ता नेत्तृत्वमा आउनै पर्ने उनको भनाइ छ।


    बिहिवार, जेठ ५ २०७९०२:२१:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij