काठमाडौं – डोटीको सबै पालिकाको मतगणना सकिएको छ। जिल्लाका ९ पालिकाको अन्तिम मतपरिणाम आउँदै गर्दा कांग्रेसले सर्वाधिक ७ पालिकाको नेतृत्व जितेको छ। नेकपा माओवादी केन्द्र र एमालेले एकएक पालिकाको नेतृत्व जितेका छन्।
कांग्रेसले आदर्श गाउँपालिका, के.आई. सिंह गाउँपालिका, दिपालय सिलगढी नगरपालिका, पूर्वीचौकी गाउँपालिका, बडीकेदार गाउँपालिका, शिखर नगरपालिका, सायल गाउँपालिकाको नेतृत्व जितेको छ।
कांग्रेसले २०७४ सालको निर्वाचनमा तीन वटा पालिकामा मात्रै जित निकालेको थियो। उसले के.आई. सिंह गाउँपालिका, बडीकेदार गाउँपालिका, शिखर नगरपालिकाको नेतृत्व जितेको थियो।
यो जिल्लामा एमालेले एउटा पालिकामा मात्रै जित निकालेको छ। उसले जोरायल गाउँपालिकाको अध्यक्ष जितेको हो।
एमालेले २०७४ सालको निर्वाचनमा यो जिल्लामा पाँच वटा पालिकामा जित निकालेको थियो। उसले आदर्श गाउँपालिका, जोरायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका, पूर्वीचौकी गाउँपालिका र सायल गाउँपालिकाको नेतृत्व जितेको थियो।
डोटीमा माओवादी केन्द्रले पनि एउटा पालिकाको नेतृत्व मात्रै जितेको छ। उसले बोगटान फुड्सिल गाउँपालिकामा जितेको हो। २०७४ सालको निर्वाचनमा पनि उसले सोही गाउँपालिकामा जितेको थियो।