काठमाडौं – सर्लाहीको मलंगवा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
नगरप्रमुखमा प्रतिस्पर्धीको भन्दा ४ हजार ६ सय ३९ बढी मत ल्याएर कांग्रेसका नागेन्द्रप्रसाद यादव नगरप्रमुखमा निर्वाचित हुनुभएको हो । यादवले ९ हजार ७८ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपाल (जसपा)का निरसल साहले ४ हजार ६३९ मत मात्रै ल्याउनुभएको छ ।
उपप्रमुखमा विजयी कांग्रेसकी शकुन्तलादेवी साहले ५ हजार १४३ मत प्राप्त गर्दा उहाँकी प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) की पानोदेवीले ५ हजार १३९ मत ल्याउनुभएको छ ।
सिन्धुलीको दुधौली नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
नगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका दिनेश अधिकारी र उपमेयरमा नेपाली कांग्रेसका चन्द्र किशोर थारु निर्वाचित हुनुभएको छ ।
नगरको मेयरमा एमालेका लक्ष्मण कुमार कार्कीलाई ५ हजार बढी मतले पराजित गर्दै माओवादी केन्द्रका दिनेश अधिकारी निर्वाचित हुनुभएको हो । अधिकारीले १५ हजार ८ सय ३८ मत ल्याउँदा एमालेका कार्कीले १० हजार ६ सय ५२ मात्र मत प्राप्त गर्नुभएको छ ।
यस्तै, नगरपालिकाको उपाध्यक्षमा एमालेकी बालकुमारी अधिकारीलाई पराजित गर्दै कांग्रेसका किशोर चौधरी थारु १४ हजार २ सय १३ मतसहित विजयी हुनुभएको छ ।
कैलालीको गोदावरी नगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका वीरेन्द्रप्रसाद भट्ट निर्वाचित हुनुभएको छ ।
भट्ट १५ हजार ५०१ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्वन्दी नेकपा एमालेका गोकर्ण भट्टले ११ हजार २२४ मत ल्याउनुभएको छ ।
उपमेयरमा भने नेकपा एमालेकी शारदादेवी रोकाया विजयी हुनुभएको छ । उहाँले १० हजार ६ सय ७० मत प्राप्त गर्नुभएको छ ।
काभ्रेको खानीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ र उपाध्यक्षमा नेपाली कांग्रेसका दोर्जे मान जिम्वा निर्वाचित हुनुभएको हो ।
गाउँपालिकाको अध्यक्षमा एमालेका शेखर लामालाई १ हजार ३ सय बढी मतले पराजित गर्दै माओवादी केन्द्रका इन्द्रबहादुर थिङ निर्वाचित हुनुभएको हो ।
यस्तै गाउँपालिकाको उपाध्यक्षमा एमालेका रुकमेणी गुरुङलाई पराजित गर्दै कांग्रेसका दोर्जे मान जिम्वा निर्वाचित हुनुभएको छ । दोर्जेले ४ हजार ३ सय २८ मत ल्याउँदा रुकमेणीले २ हजार ९ सय ८७ मात्रै मत ल्याएका छन् ।
कांग्रेस र एमालेको गठबन्धनलाई तोड्दै रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
नगरप्रमुखमा पुष्प वादी र उपप्रमुखमा इश्वरी शर्मा (विएम) विजयी हुनुभएको हो । नगरप्रमुखमा विजयी माओवादी केन्द्रका पुष्प वादी ६ हजार ८ सय ८२ मतसहित विजयी हुनुभएको छ भने, उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमबहादुर वलीले ६ हजार ३ सय ११ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, उपप्रमुखमा माओवादी केन्द्रकी इश्वरी शर्मा (विएम) ७ हजार २ मत सहित विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार टंकप्रसाद ओलीलाई १ हजार २५८ मतले पराजित गर्नुभएको हो ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका अजमल अख्तर मियाँ र सुनिता कुमारी उराँव निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित मियाँले ४ हजार ९ सय ९३ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका महेन्द्रप्रसाद यादवले ३ हजार ६ सय ५५ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी सुनिताकुमारीले ४ हजार २ सय ४६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी सवितादेवी महेताले २ हजार ८ सय ७९ मत प्राप्त गरेर पराजित हुनुभएको छ ।
ललितपुरको बागमती गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बीरबहादुर लोप्चन र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका भक्तबहादुर दर्लामी निर्वाचित हुनुभएको छ । लोप्चन नेकपा एमालेका नवराज सन्जेललाई ८ सय ५६ मतान्तरले पराजित गर्दै अध्यक्षमा विजयी हुनुभएको हो ।
उपाध्यक्षमा निर्वाचित दर्लामीले ४ हजार ६ सय ९२ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्दी एमालेका नमुना दोङले ३ हजार ७ सय मत ल्याउनुभएको छ ।