पाल्पा । पाल्पाको रामपुर नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका रमण थापा विजयी हुनुभएको छ । एमालेबाट मेयरको उम्मेदवार हुनुभएका अधिवक्ता शिव अर्याललाई ३७३ मत अन्तरले पछाडि पार्दै थापा मेयरमा निर्वाचित हुनुभएको हो । थापाले १० हजार ४५६ मत पाउँदा अर्यालले १० हजार ८३ मत प्राप्त गर्नु भएको छ । मेयरमा थापासँग नै यसअघि एमालेकै राजु श्रेष्ठ पराजित हुनुभएको थियो ।
मेयरमा काँग्रेसका थापा दोस्रो पटक विजयी हुनुभएको हो भने उपमेयरमा एमालेकी दुर्गादेवी राना दोस्रो पटक पनि पराजित हुनुभएको छ । उपमेयरमा एमालेले दुई पटक नै रानालाई उम्मेदवार बनाएपनि उहाँ दुवै पटक पराजित हुनु भएको हो । उहाँ पहिलो पटक काँग्रेसकी उपमेयरकी उम्मेदवार विष्णुदेवी आचार्यसँग पराजित हुनुभएको थियो भने अहिले दोस्रो पटकमा काँग्रेसकै बालकुमारी थापासँग पराजित हुनुभएको हो ।
अघिल्लो पटक उपमेयरमा काँग्रेस उम्मेदवार घिमिरेले ८ हजार ५ सय २८ मत ल्याउँदा एमाले उम्मेदवार दुर्गादेवी रानाले ६ सय ४ मत कम ल्याउनु भएको थियो । रामपुर नगरपालिकाको मेयर र उपमेयरमा निर्वाचित काँग्रेसका उम्मेदवारहरुले एमालेका उम्मेदवारहरुसँगको मतान्तर घटाएका छन भने वडा अध्यक्षको सङ्ख्या काँग्रेसले बढाएको छ । उपमेयरमा निर्वाचित थापाले यस पटक १० हजार ३०७ मत ल्याउँदा पराजित रानाले १० हजार २५० ल्याउनु भएको थियो । उहाँहरुका बीचमा ५७ मत मात्रै अन्तर रहेको छ ।
कुल १० ओटा वडा रहेको रामपुरमा यसअघि ६ वडामा जित हासिल गरेको काँग्रेसले अहिले ७ वडामा जितेको छ । लामो समयदेखि सांसद रहेका एमालेका पूर्व मन्त्री दल बहादुर रानाको गाँउ र एमालेको गढ मानिने रामपुर १ मा यस पटक काँग्रेसले थप जित हासिल गरेको हो । काँग्रेसबाट वडा नं. १ मा वडा अध्यक्षका उम्मेदवार हुनुभएका कपिल खाँणले आफु निर्वाचित भएपछि आफ्ना प्रतिश्पर्धीलाई ढोगेर प्रतिश्पर्धीको समेत सहयोग र सल्लाह लिएर काम गर्न चाहेको बताउनु भएको थियो । काँग्रेसले अहिले वडा नंं. १, २, ४, ५, ६, ७, ९ र एमालेले ३, ८ र १० वडामा जितेको हो ।
काँग्रेसका युवा नेता रमण थापाको अघिल्लो कार्यकाल पनि प्रशंसनीय र सन्तोषजनक नै रहेकाले उहाँले अहिले पनि दोहोरिने मौका पाउनु भएको हो । उहाँले अघिल्लो कार्यकालमा सबैभन्दा बढी त जनताको भावना अनुसार कालिगण्डकी संरक्षणमा संघर्ष गर्नुभयो । त्यससँगै उहाँले कोरोना महामारीको बेला कतिपय अनुकरणीय नै लाग्नेसम्मका काम गरेर नगरवासीको अविभावकत्व देखाउनुभयो । त्यसैगरी खर रहित घर, ढल रहित नगर बनाउने लगायतका सयौँ विकास निर्माणका कार्य गर्नु भएको छ ।
मुलुकमा सत्याग्रह चल्दै गर्दा २०४२ सालदेखि वाल्यकालमै राजनीतिमा लाग्नु भएका थापाले अनेक आरोह अवरोहका साथ रामपुरलाई रामराज्य बनाउने सौभाग्य पाउनु भएको हो । नेपाली काँग्रेस र लौहपूरुष गणेशमान सिंहको नेतृत्वमा प्रजातन्त्र ल्याउन पंचायत विरुद्ध देशव्यापी आन्दोलन भइरहेको बेला उहाँ स्याङजाको एउटा विद्यालयमा सत्याग्रहको पक्षमा विद्रोह गर्दा जेल कोचिनु परेको थियो ।
२०२७ सालमा जन्मेका रमणको सानै देखि अन्याय अत्याचारविरुद्ध संघर्षरत स्पष्ट वक्ताको परिचय बनेको थियो । उहाँले बाल्यकालमा पनि गाउँघरमा होस् वा विद्यालयमा आफुलाई लागेको कुरा निर्धक्क राख्ने गर्नुहुन्थ्यो । स्वतन्त्रता रुचाउने र सहयोगी भावनाका रमणको बालमस्तिष्कमा पञ्चायती शासकहरुले जनतामाथि गरेको शोषण र दमनको अमिट छाप परेको रहेछ, कसैको अह्राई सिकाई विना त्यसका विरुद्धमा उहाँ उत्रिनु भएको थियो ।
स्याङजाको चिन्नेबासस्थित जनप्रिय माविमा कक्षा ९ मा अध्ययनरत स्कुले बालक रमणले त्यतिबेला पञ्चायती शासन व्यवस्था ठिक छैन, प्रजातन्त्र ल्याउन आन्दोलनमा लागौं भनेर आफ्ना सहपाठी र अग्रज दाजुहरुलाई संगठित गर्नु भएको थियो । एक कान दुइ कान गर्दा गर्दै उहाँको भूमिगत सक्रियताका बारेमा प्रहरीले थाहा पाउना साथ उहाँलाई स्याङजाको जिल्ला कारागारमा बालविद्रोहीका रुपमा थुनिएको थियो । १५ वर्षे बालविद्रोही रमणलाई कारागारको चिसो सिढीमा केहीदिन थुनेपछि प्रहरी कारागारमुक्त गरिदिएको थियो ।
जन्मजात लोकतान्त्रिक विचार धाराका रमण बैचारिक र राजनीतिक रुपमा सानै देखि जति सुस्पष्ट हुनुहुन्थ्यो, पढाईमा पनि उत्तिकै प्रखर । विद्यालय तहमा उहाँ कहिल्यै दोस्रो हुनु परेन । वक्तृत्वकला प्रतियोगिता, बादविवाद प्रतियोगिता, हाजिर जवाफ प्रतियोगिता लगायतका अतिरिक्त कृयाकलापहरुमा सधै पुरस्कृत हुने रमण खेलकुँदमा झनै खरो खेलाडि हुनुहुन्थ्यो ।
शिक्षक सेवा आयोगको परिक्षामा स्याङजा जिल्लामै सबै भन्दा धेरै अंक ल्याएर एक नम्बरमा नाम निकाल्न सफल रमणले शिक्षण पेशा भने धेरै समय अँगाल्न सक्नु भएन । उहाँले झण्डै चार वर्ष सरकारी शिक्षकको रुपमा विद्या बाँडे पनि शिक्षक भइरहँदा राजनीतिक स्वतन्त्रता नपाएपछि सरकारी जागिर छोडिदिनुभयो ।
सरकारी शिक्षक हुँदा खुल्ला सामाजिक तथा राजनीतिक गतिविधि गर्न नपाएपछि पिँजडाको सुगा जस्तो अनुभूति गरेका रमण हुँदा खाँदाको आकर्षक सरकारी जागिर छाडेर सामाजिक सेवा तर्फ होमिनु भएको थियो । त्यति बेलादेखिको लगातारको सामाजिक सेवा र क्रियाशिलताकै प्रतिफलमा आज सबैको सहयोगी, सेवक र विकास अभियान्ता रमण भन्ने परिचय बनेको छ, उहाँको ।
उहाँ सामान्यतया जति सरल, दयालु र नरम देखिनुहुन्छ, परेको बेलामा उत्तिकै कठोर र सहासी पनि हुनुहुन्छ । उहाँको सहासको रामपुरमा बेलाबेलामा चर्चा भईरहन्छ । रामपुरको सृजनसिल युवा क्लवको अध्यक्ष भएको बेला २०५९ सालमा सामाजिक कामका लागि देउसीभैलो खेलेर संकलन गरेको रकम माओबादीले लुटेर लगेपछि उहाँले उनीहरुबाट त्यो रकम फिर्ता गराउन सफल हुनुभएको थियो । माओवादीले जे गरेपनि डराई डराई सहनु पर्ने बेलामा पनि उहाँले माओवादीसँग भिडेर रकम खोसेर फिर्ता गराउन अकल्पनीय सहासिक काम गर्नु भएको थियो ।
उहाँले कुनै पदिय जिम्मेबारीमा हुनुभन्दा अगाडि देखि नै कहिल्यै झण्झट र अल्छि नमानी आफ्ना गाँउलेहरुलाई सहयोग गर्दै आउनु भएको छ । पुर्वी पाल्पाका अधिकांश सामाजिक संघसंस्था र बाटोघाटोमा उहाँको श्रम र पसिना परेको छ । हरेकका घरदैलोमा उहाँ पुग्नु भएको छ भने हजुरवा हजुरआमादेखि नातीनातिनासम्मको सन्चो विसन्चो सोधीखोजी गर्नुहुन्छ ।
बाटो घाटो, पुलपुलेसा, मठमन्दीर, खेलकुद, कलासंस्कृति, शिक्षा जुनसुकै क्षेत्रमा काम गर्न खोज्ने जुनसुकै उपभोक्ता समुह, आमा समुह, युवा क्लव, विद्यालय लगायतका जुनसुकै सामाजिक संस्थालाई उहाँको साथ रहदै आएको छ । आफुसँग जे छ त्यही दिएर सहयोग गर्ने मेयर थापाले युवालाई भलिबल, विद्यार्थीलाई छात्रबृत्तिदेखि बाटो बनाउन डोजरसम्म पठाईदिने गर्नु भएको छ ।
उहाँले दलित तथा जनजातीका छोराछोरीलाई गाँउ गाँउमा गएर कितावकापी र छात्रबृत्ति मात्रै दिनु भएको छैन केहीलाई त काठमाडौमा समेत पढ्ने व्यवस्था गरिदिनु भएको छ । कैयौ गरिव विरामीहरुलाई औषधी र अस्पतालको खर्च तिरिदिनु भएको छ भने अपाङ्गता भएकाहरुकाहरुलाई पनि अनेक सहयोग गर्नु भएको छ । पार्टीमा कहिल्यै अन्य पदहरुको दावी नगर्नु भएका थापा काँग्रेसको महासमिति सदस्य मात्रै हुनुहुन्छ ।