Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

चर्चित मन्त्रीको जिल्लामा गठबन्धन अघि, एमाले पछि

चर्चित मन्त्रीको जिल्लामा गठबन्धन अघि, एमाले पछि

  • सोमवार, जेठ २ २०७९

  • 658
    SHARES

  • चर्चित मन्त्रीको जिल्लामा गठबन्धन अघि, एमाले पछि

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चर्चित मन्त्री थिए, वसन्तकुमार नेम्बाङ ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुँदा राम्रो काम गरेको भनेर चर्चामा आएका उनै नेम्बाङको गृह जिल्ला पाँचथरको सबै स्थानीय तहमा भने एमाले उम्मेदवारहरूले गठबन्धनका उम्मेदवारहरूलाई पछ्याइरहेका छन् ।

    फिदिम नगरपालिकासँगै मिक्लाजुङ, तुम्बेवा, फाल्गुनन्द, फालेलुङ, हिलिहाङ र याङ्वरक गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरूले अग्रता लिइरहेका छन् ।

    समाचार तयार पार्दासम्मको विवरणअनुसार फिदिममा गठबन्धनको प्रमुख पदका कांग्रेस उम्मेदवार मित्रप्रसाद काफ्ले (४६९४ मत) र उपप्रमुखमा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने ९४०६२ मत० को अग्रता कायम छ ।

    प्रमुख पदमा एमालेका पृथ्वी लावती (३९७९ मत)र उपप्रमुख पदमा राप्रपाका जगत थापा मगरले (२८७० मत) सहित पछ्याइरहेका हुन् ।

    मिक्लाजुङ गाउँपालिकामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार अमरराज माखिम ९२३९४ मत० र उपप्रमुखमा कांग्रेसका सन्तोषकुमार सेर्मा (२६९२ मत) सहित अघि छन् ।

    अध्यक्ष पदका प्रतिद्वन्द्वी एमालेका नरेन्द्र बस्‍नेत (२२७७ मत) र उपाध्यक्ष पदमा एमालेकै धनकुमारी मगर (१३७८ मत)ले गठबन्धनका उम्मेदवारहरूलाई पछ्यारहेका छन् ।

    याङ्वरक गाउँपालिकामा भने पछिल्लो पटक फेरि गठबन्धनै उम्मेदवारहरू अध्यक्ष र उपाध्यक्ष पदम अग्रता लिएका हुन् ।

    अध्यक्षमा कांग्रेसका मबिन्द्र योङया (१३९३ मत) र उपाध्यक्षमा माओवादीका अर्जुन बेघा (१२९० मत) ले एमालेका भीमबहादुर योङया (११४४ मत) र बाबा मेन्याङ्बो (१०७० मत) लाई पछि पारेका छन् ।

    फाल्गुनन्दको अध्यक्षमा कांग्रेसका बृजहाङ आङ्देम्बे, (३९९३ मत) र उपाध्यक्षमा माओवादीका ठाकुरसिंह नेम्बाङ (३६७१ मत) को भन्दा अध्यक्षमा एमालेका वीरबहादुर कुरुम्बाङ (३०१६ मत) र उपाध्यक्षमा जनता समाजवादी पार्टीकी बबिता नेम्बाङ (२९४९ मत) पछि छन् ।

    फालेलुङ गाउँपालिकाको अध्यक्षमा पनि कांग्रेसका वीरविक्रम थाम्सुहाङ (३८०८ मत) र उपाध्यक्षमा माओवादी केन्द्रका महेन्द्र जबेगू ‘फुङ्निमा’ (३६१७ मत) अघि छन् ।

    उक्त पालिकामा एमालेको अध्यक्षमा जयप्रकाश केरुङ (१८६८ मत) र उपाध्यक्षमा सुजाता वान्तावा (१९६० मत) ले गठबन्धनका उम्मेदवारहरूलाई पछ्याइरहेका हुन् ।

    तुम्बेवा गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका बाबुराम खड्का (१६९५ मत) र एमालेका गोविन्दबहादुर तामाङ (१५२८ मत) भन्दा अगाडि छन् ।

    उपाध्यक्षमा माओवादी केन्द्रका खड्गबहादुर सम्बाहाम्फेको १८३३ मतसहित अग्रता कायम छ । उनलाई एमालेकी नन्दादेवी विश्‍वकर्माले १२४५ मतसहित पछ्यारहेकी छिन् ।

    यस्तै, हिलिहाङ गाउँपालिकामा पनि कांग्रेसका समरबहादुर अधिकारीको अग्रता कायमै छ । उनले समाचार तयार पार्दासम्म तीन हजार ७५५ मत र प्रतिस्पर्धी भुवानीप्रसाद लिङ्देनले तीन हजार ३७१ मत पाएका छन् ।

    उपाध्यक्ष पदमा तीन हजार ३९८ मत पाएका नेकपा एकीकृत समाजवादीका भवानी लिङ्देनलाई एमालेकी सुमित्रा सेढाइले तीन हजार २२९ मतसहित पछ्याइरहेकी छिन् ।

    जिल्लाको कुम्मायक गाउँपालिकाको अध्यक्षमा भने कांग्रेसका बमप्रसाद लावती निर्वाचित भएका छन् । उपाध्यक्षमा माओवादीका महेन्द्रबहादुर खड्का निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय कुम्मायकले जनाएको छ ।

    यसअघि याङ्वरक, हिलिहाङ र कुम्मायक गाउँपालिका एमालेले जितेको थियो । २०७६ को मंसिर १४ मा उपनिर्वाचन हुँदा पहिले कांग्रेसले जितेको फाल्गुनन्द गाउँपालिकामा पनि एमालेले जितेको थियो ।

    कांग्रेसले फिदिम, फालेलुङ र तुम्बेवा गाउँपालिका जित्दा माओवादीले मिक्लाजुङ जितेको थियो ।

    तर, गठबन्धन भएपछि भने कांग्रेस, माओवादी र एकीकृत समाजवादीले पाँचथरको स्थानीय तहमा एमालेलाई ‘क्लीन स्वीप’ गर्ने संकेत देखाएका छन् ।


    सोमवार, जेठ २ २०७९११:३१:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij