सुर्खेत । हुम्लाको अदानचुली गाउँपालिकामा खटिएका निर्वाचन अधिकृतलाई हटाउन जिल्लास्थित तीन दलले माग गरेका छन् । निर्वाचन अधिकृतले निर्वाचन आचारसंहिता विपरीत सर्वदलीय सहमतिविना एकलौटी कार्य गरेको भन्दै हटाउन माग गरेका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन अधिकृतलाई हटाउन माग गर्दै विज्ञप्ति जारी गरेका छन् ।
गाउँपालिकामा कार्यरत उम्मेदवारको आफन्तलाई निर्वाचन कर्मचारीका रुपमा नियुक्त गरेको, निर्वाचनअघि सक्कल मतपत्र एउटा दललाई मात्र वितरण गरेको, सर्वदलीय सहमति नहुँदै सूचना प्रसारण गरेको, एमालेबाट गाउँपालिकाका अध्यक्षको उम्मेदवार बनेका दल फडेराको घरमा बसेर खानपिन गरेको आरोप दलहरुले लगाएका छन् ।
निर्वाचन अधिकृतलाई नहटाएमा निर्वाचन विथोलिन सक्ने चेतावनी समेत दलहरुले दिएका छन् । अदानचुली गाउँपालिकामा यामप्रसाद बास्कोटा निर्वाचन अधिकृत छन् । जिल्ला निर्वाचन कार्यालय हुम्लाका प्रमुख मुक्तिनन्द रावलले दलहरुले विज्ञप्ति निकालेर उठाएका मागबारेमा बुझ्ने काम भइरहेको बताए ।
