काठमाडौँ । सरकारले संघीय संसदको बैठक आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३ गते संसदको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
सरकारले जेठ १५ गते ल्याउने बजेटमाथि छलफल गर्न संसद बैठकको आह्वानका लागि सिफारिस गरेको हो । सरकारले जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । अघिल्लो वर्ष सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो ।
यस्तै, सरकारले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा २० लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय पनिगरेको छ ।
गृहमन्त्री बालकृष्ण खाँणको प्रस्तावमा निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरको हो ।
बैठकले निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग) तथा म्यादी प्रहरीको उपचारमा लागेको खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ ।
बैठकले हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह जिल्लागत दररेट अनुसार रासनभत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।