काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बाँडीचुडी खान पाँच दलीय गठबन्धन बनेको टिप्पणी गर्नुभएको छ । वडामासमेत एमालेसँग एक्लै चुनाव लड्न नसकेर नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्रलगायतकाले गठबन्धन गरेको ओलीले बताउनुभयो ।
आज इटहरी उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सत्तारुढ दलको गठबन्धनलाई टालाटुली बटुली बनाएको पुतलीजस्तो भनी टिप्पणी गर्नुभएको छ । बाँडेर खाने उद्देश्यले बनाएको गठबन्धनलाई मत दिन नहुने ओलीको भनाइ छ ।
ओलीले नेपाली काङ्ग्रेसको घोषणा पत्रमा मान्छे देखिने तर एमालेको घोषणा पत्रमा विकास देखिने बताउनुभयो । सत्तारुढ गठबन्धनप्रति आक्रोश पोख्दै ओलीले खाएर, चुसेर ढाडिएकाहरुले गठबन्धन गरेको टिप्पणी गर्नुभयो ।