काठमाडौं– आजभोलि कलाकारहरुले धमाधम राजनीतिक पार्टी प्रवेश गरेको समाचार अत्याधिक सुन्नमा आउँछ । आखिर के कारणले कलाकारहरु पार्टी प्रवेश गर्छन् अर्थात राजनीतिप्रति कलाकारहरुको यति साह्रो मोह किन ? भन्ने जनताको निकै चाँसोको विषय बनेको छ ।
केही दिन अघि मात्रै भुवन केसी, स्वेता खड्कालगायतका कलाकारहरुले नेपाली कांग्रेस पार्टी प्रवेश गरेका थिए । विगतमा पनि थुप्रै कलाकारहरु विभिन्न राजनीतिक दलमा आवद्ध भएको देखिन्छन् । करिश्मा मानन्धर ‘सुर्जेकुमारी’ नेकपा एमालेमा, रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा ।
यस्तै, आजभोलि थुप्रै कलाकारहरुको पार्टी प्रवेश गर्नेको लर्को नै चलिरहेको छ । नाम कमाएका, पैसा भएका, समाजमा राम्रो छवि भएका कलाकारहरु राजनीतिक पार्टी प्रवेश गर्नुको कारण के हो त ?
धेरैजसो कलाकारहरुले आफ्नो कलाकारिता करिएरको अन्तिम समयमा राजनीतिक पार्टी प्रवेश गरेको पाइन्छ । त्यस्तै, धेरै कलाकारहरु जब आफू चलचित्र क्षेत्रमा खासै राम्रो प्रर्दशन गर्न सक्दैनन् अर्थात् जब चलचित्रहरु एकपछि अर्को गर्दै फ्लप हुन थाल्छन्, त्यसपछि उनीहरु आफ्नो भविष्य राजनीति मार्फत् सुनिश्चित गर्न पनि पार्टी प्रवेश गरेको देखिन्छ ।
पार्टीसँग आवद्ध भएर सांसद मन्त्री बनेर शक्ति आर्जन गर्ने र माहोललाई आफ्नो वरिपरि बनाइराख्न पनि धेरै कलाकार पार्टी प्रवेश गरेको पाइन्छ ।
तर, केही कलाकारहरु समाजसेवाको भावले राजनीतिमा प्रवेश गरेका छन् । कलाकारिता क्षेत्रबाट केवल जनतालाई सूचना र मनोरञ्जन प्रदान गर्न सकिन्छ अर्थात् एउटा सामाजिक अभियन्ताको काम गर्न सकिन्छ । तर, आफ्नो भिजन लागू गर्न, दक्षता दर्शाउन सत्ता नै चाहिन्छ किनभने सरकारसँग भनेजस्तो स्रोत र साधन हुनका साथै उपयुक्त शक्ति पनि हुन्छ ।
कलाकारहरुको बढ्दो पार्टी प्रवेशलाई उनीहरुका दर्शक र समर्थकहरुले विभिन्न टिप्पणी गर्दै आएका छन् । पछिल्लो समय चितवनमा भएको सत्तारुढ गठबन्धनको चुनावी आमसभामा कलाकार तथा प्रस्तोता सन्दिप क्षेत्रीले गठबन्धनका उम्मेदवार रेनु दाहालको बयान गर्दा विवादित बन्नुपरेको छ ।