काठमाडौं – नेपाल प्रहरीको आईजीपी नियुक्तिमा वरिष्ठता मिचिएको भन्दै असन्तुष्ट बनेका एआइजी विश्वराज पोखरेल र शहकुल थापा बिदामा हुनुहुन्छ । एआइजी पोखरेलले जुनियरलाई आइजीपीमा नियुक्ति गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।
आईजीपी नियुक्त गरेका धीरजप्रताप सिंह आफूभन्दा जुनियर भएको जिकिर गर्दै पोखरेलले उक्त निर्णय खारेज गर्न परमादेशको माग गर्नुभएको थियो । तर, सरकार पक्ष समेत बहसका लागि निवेदन लिएर आएपछि बहसको क्रम अझै नसकिएकाले मुद्दा बिहीबारसम्मलाई हेर्दाहेर्दैमा राखिएको छ ।
एआईजी शहकुल थापा भने अदालत जानुभएको छैन । नेपाली रेडियो नेटवर्कसँग भएको कुराकानीका क्रममा थापाले आफूमाथि अन्याय भएको बताउनुभएको छ । आवश्यकता हेरेर आफू पनि न्यायको लडाइँमा होमिने उहाँको भनाइ छ ।
थापाले अहिले केही दिन सर्वोच्चको निर्णय कुरिरहेको बताउनुभयो । प्रहरी संगठनमा वरिष्ठता मिचिँदा प्रणालीमाथि नै खतरा बढ्दै गएको उहाँको भनाइ छ ।