काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश सुष्मालता माथेमाको इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
आईजीपी नियुक्तिमा असहमति जनाउँदै एआईजी विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । आईजीपी नियुक्त गरिएका धीरजप्रताप सिंह आफूभन्दा कनिष्ठ भएको जिकिर गर्दै पाखेरेलले सरकारको निर्णय खारेज गर्न परमादेशको माग गर्दै रिट दायर गर्नुभएको हो ।
सो रिट उपर इजलासमा पोखरेलको तर्फबाट मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले बहस गरेका थिए भने सिंहको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराईलगायतले बहस गरेका थिए । बहसको क्रम अझै नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
आईजीपी नियुक्तिबारे असन्तुष्ट अर्का एआईजी सहकुल बहादुर थापा भने काममा फर्किनुभएको छ । आईजीपीको प्रतिस्पर्धामा रहेपनि सरकारको रोजाइमा नपर्नुभएका विश्वराज अन्य प्रतिस्पर्धी भन्दा १६ महिना अघि एआईजीमा बढुवा हुनुभएको थियो ।
सहकुल थापा नवनियुक्त आईजीपी सिंहभन्दा ९ महिना अघि एआईजी हुनुभएको थियो । आईजीपी सिंह र रवीन्द्र बहादुर धानुक १ महिनाअघि एआईजीमा बढुवा भएका थिए । आईजीपीका प्रतिस्पर्धीहरू एउटै मितिमा प्रहरीमा भर्ना भए पनि फरक समयमा एआईजीमा बढुवा भएका थिए ।