काठमाडौँ । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट कारवाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको भेलाले विप्लवलाई महासचिवबाट हटाएको छ । आजदेखि चितवनमा बसेको ओली र बास्तोला पक्षको भेलाले महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई हटाउने निर्णय गरेको हो ।
उक्त समूहका नेता गुणराज लोहनीले स्थानीय तहको निर्वाचनमा पार्टी केन्द्रीय समितिको निर्णयविपरीत सहभागी भएको, एमसीसी पक्षधर एमाले र कांग्रेससँग चुनावमा गठबन्धन गरेको लगायतका विषयलाई लिएर महासचिवबाट चन्दलाई हटाइएको बताउनुभयो ।
राष्ट्रिय भेलाले पार्टीको केन्द्रीय संयोजक धर्मेन्द्र बास्तोलालाई तोकेको पनि लोहनीले बताउनुभयो । उहाँले ६४ सदस्यीय केन्द्रीय समिति र ४ सदस्य रहेको सल्लाहकार गरी ६८ सदस्यीय केन्द्रीय नेतृत्वमध्ये ३८ जना भेलामा उपस्थित रहेको जानकारी दिनुभयो ।
केही दिन पहिले चन्दले धर्मेन्द्र वास्तोला र हेमन्तप्रकाश वलीलाई पार्टीको जम्मेवारीबाट मुक्त गर्नुभएको थियो । चुनावमा भाग लिएको विषयमा पार्टी निर्णयविपरीत वक्तव्य निकालेको भन्दै उहाँले दुवै नेताको जिम्मेवारी खोस्नुभएको थियो ।
पार्टी केन्द्रीय समिति सदस्यको बहुमत भएकाले आधिकारिकता आफूहरुले पाउने लोहनीले बताउनुभयो । भोलि सकिने ओली–बाँस्तोला पक्षको भेलाले पार्टीका सबै निर्णय सार्वजनिक गर्ने भएको छ ।