काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले सार्वजनिक कार्यक्रममा मिटू प्रकरणबारे प्रश्न गर्ने युवतीमाथि तुच्छ टिप्पणी गर्नुभएको छ ।
हालै मात्र नेशनल कलेजमा भएको अन्तरक्रियामा अधिकारकर्मी भावना राउतले मिटू आरोपबारे स्थापितलाई प्रश्न गर्नुभएको थियो । जवाफमा त्यहीबेला स्थापितले ‘यू आर नाइस लेडी, बट थुतुनो ठीक छैन’ भन्दै आक्रोश पोख्नुएको थियो ।
यसको चर्को आलोचना भइरहेका बेला आज फेरि स्थापितले प्रश्नकर्ता राउतमाथि आपत्तिजनक टिप्पणी गर्नुभएको हो । काठमाडौँमा आज आयोजित कार्यक्रममा एमाले उम्मेदवार स्थापितले भन्नुभयो, ‘बोलीको कर्कशता हेरौं न ! मान्छे पनि हो कि होइन जस्तो लाग्यो । अमानवले बोले जस्तो !’
प्रश्नकर्ता राउतको नाम नलिई उहाँले भन्नुभयो, ‘अमानवलाई मैले मानवीय व्यवहार गर्नुपर्छ जस्तो लागेन । त्यसपछि मैले भनेको तिमी साह्रै राम्री छौ बाहिरबाट, तर थुतुनो चाहिँ ठीक छैन । म फेरि पनि भन्छु । मेरो प्रवृत्ति यही हो ।’