काठमाडौं । सरकारले तेस्रो नम्बर वरियताका धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि असन्तुष्टि जनाउँदै विदामा बसेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा काममा फर्किएका छन् । सिंहलाई आईजीपी बनाइएपछि एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा दुवैले बढुवा प्रक्रियामा अन्तुष्टि जनाउँदै विदा लिएका थिए ।
पोखरेलको एक महिना र थापाको १० दिन विदा निवर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले स्वीकृत गरिदिनुभएको थियो । तर सोमबार गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहसँगको भेटपछि उहाँ काममा फर्किन सहमत हुनुभएको हो ।
निर्वाचन सेलको कमाण्डर रहनुभएका थापा चुनावको मुखमा विदा बस्दा असर पुग्ने निष्कर्षसहित उनलाई काममा फर्किन भनिएको थियो ।
एआईजी पोखरेलले चाहिँ सर्वोच्च अदालतमा सरकारको निर्णयविरुद्ध रिट निवेदन दिनुभएको छ । रिटमाथि बुधबार सुनुवाइ हुँदैछ । आफू वरियतामा अगाडि रहे पनि सरकारले अन्याय गरेको उहाँको दाबी छ । दोस्रो नम्बर वरियताका थापाले पनि अदालत जाने बताउनुभएको भए पनि गृहमन्त्रीसँग भेट गरेपछि उहाँ नियमित काममा फर्किनुभएको हो ।