काठमाडौँ । सत्ता गठबन्धनले केन्द्रबाट दिएको निर्देशन तल्लो तहमा कसिलो कार्यान्वयन नहुँदा समस्या उत्पन्न भएपछि दलहरुबीच एकअर्काविरुद्ध दोषारोपन सुरु भएको छ । आसन्न स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने पाँच दलबीचको निर्णयविरुद्ध स्थानीय तहमा बागी उम्मेदवारी कायमै रहेपछि सत्ता गठबन्धनमाथि चुनौती थपिएको छ ।
गठबन्धनभित्रको एउटा घटक नेकपा एकीकृत समाजवादीले अहिले तल्लो तहमा देखिएको समस्याको मुख्य जड नै ठूला भनिएका दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र भएको बताएको छ । नेपाली कांग्रेसबाट आफू ठूलो दल हुँ भन्ने अहम व्यक्त भएको र माओवादी केन्द्रले पनि आफूलाई एकीकृत समाजवादीभन्दा ठूलो देखाउन खोज्दा गठबन्धनलाई अफ्ठ्यारोमा पारेका नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाको तर्क छ ।
गठबन्धनले केन्द्रबाटै भागवण्डा गरेको भएपनि भरतपुर, पोखरा, विराटनगर जस्ता महानगरपालिका तथा केही उपमहानगरपालिमासमेत बागी उम्मेदवारी परेको छ, जुन दलहरुले अनेकौं प्रयास गर्दा पनि फिर्ता लिन बागी उम्मेदवारहरु मानेन् । तलको मनोविज्ञानलाई सम्बोधन गर्नका लागि बनाउनु पर्ने विधिविधान सही ढंगले समयमा बनाउन नसक्दा अहिलेको समस्या आइपरेको प्रवक्ता खतिवडा बनाउनुहुन्छ ।
अहिलेको गठबन्धनको आवश्यक्ता र मूल्यमान्यतालाई आफ्नै नेताकार्यकर्ताले नबुझ्दा समस्या र चुनौती थपिएको कांग्रेसको पनि स्वीकारोक्ति छ । कांग्रेस नेता रमेश रिजाल नेताकार्यकर्ताले पार्टीकै निर्णयलाई नमानि त्यसविरुद्ध जानु दुर्भाग्य भएको बताउनुहुन्छ । यद्यपि, यसैलाई लिएर निराश हुनुपर्ने कारण भने नरहेको उहाँको भनाइ छ ।
पार्टीको निर्णयविरुद्ध बागी उम्मेदवारी दिने तल्लो तहका कांग्रेस नेताहरु स्वतः निष्कासनमा परेका छन् । अब ती बागी दिनेहरुसँग पार्टीको कुनै सरोकार नरहने भन्दै गठबन्धनका तर्फबाट अघि सारिएका सबै उम्मेदवार विजय हुने कांग्रेस नेता रिजालको आश्वासन छ ।
गठबन्धनका निर्णयविपरित सबै ठाउँमा परेका बागी उम्मेदवारलाई फिर्ता ल्याउन दलहरु असफल भएपछि गठबन्धनलाई चुनौती थपिएको छ । निरन्तरको प्रयासपछि धेरै पालिकामा परेका बागी उम्मेदवारी फिर्ता लिन पाँच दलीय गठबन्धन सफल भएपनि रणनीतिक हिसाबले महत्वपूर्ण मानिएका भरतपुर, पोखरा र विराटनगर जस्ता महानगरपालिकामा बागी उम्मेदवार कायमै छन् । उनीहरुसहित सबै उम्मेदवारलाई निर्वाचन आयोगले आज चुनाव चिन्ह पनि प्रदान गरिसकेको छ ।