काठमाडौँ । स्थानीय तहको निर्वाचनका सन्दर्भमा केन्द्रबाट दिएको निर्देशन तल्ला तहमा कार्यान्वयन हुन नसक्दा पाँच दलीय सत्ता गठबन्धनमाथि चुनौती थपिएको छ । चुनावी तालमेल गर्ने केन्द्रको निर्णयप्रति असहमति जनाउँदै बागी उम्मेदवारी दिएकाहरुले फिर्ता लिन अवीकार गर्दा गठबन्धनलाई चुनौती थपिएको हो ।
यसपटक पनि चितवनको भरतपुर महानगरपालिका राजनीतिक चर्चा र चासोको केन्द्रमा छ । भरतपुरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रले रेणु दाहाललाई मेयरको उम्मेदवार बनाएको छ । माओवादीको भागमा परेको महानगरमा पूर्व राष्ट्रियसभा सदस्यसमेत रहनुभएका कांग्रेस नेता जगन्नाथ पौडेलले दर्ता गराउनुभएको बागी उम्मेदवारी फिर्ता लिनुभएन ।
उहाँले चितवन कांग्रेसको मनोवल उच्च पार्न आफूले उम्मेदवारी कायम राखेको बताउनुभएको छ । साथै आफूले ३० देखि ५० हजार मत ल्याएर जित्नेसमेत नेता पौडेलको दाबी छ ।
उता, पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेसका तीन जनामध्ये एक जनाले उम्मेदवारी कायम राखेका छन् । बागी उम्मेदवारी दिएका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले उम्मेदवारी फिर्ता लिए भने विमल कार्कीले भने उम्मेदवारी कायम राख्नुभएको छ ।
पार्टी नेतृत्वले कार्यकर्तालाई दास सम्झेर गलत निर्णय गरेका कारण आफूले उम्मेदवारी कामय राखेको नेता कार्की बताउनुहुन्छ ।
चुनावी तालमेलप्रति गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका नेताकार्यकर्ता बढी असन्तुष्ट छन् । जनकपुर उपमहानगरपालिकाको प्रमुखमा पनि काँग्रेसको नगर सभापतिबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिनुभएका मनोज साहले उम्मेदवारी कायमै राख्नुभएको छ ।
माओवादी केन्द्रका नेता देव गुरुङ बागी फिर्ता गराउन नसक्ने सम्बिन्धित दलनै त्यसप्रति जिम्मेवार हुने बताउनुहुन्छ । उहाँले गठबन्धनका निर्णय कुन पक्षले कति कार्यान्वयन गराए भन्ने कुरा पछि समिक्षा हुने बताउनुभयो ।
गठबन्धनको निर्णय कायान्वयन गराउने क्रममा केही ठाउँमा समस्या देखिएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतको स्वीकारोक्ति छ । यद्यपि, पार्टीका नेता कार्यकर्ताले केन्द्रको निर्णयअनुसार मत दिने कुरामा कुनै समस्या हुने उहाँले जिकिर गर्नुभयो ।
आजै बिहान प्रधानमन्त्रीनिवास बालुवाटरमा बसेको गठबन्धनको बैठकले बागी परेका सबै गाउँमा उम्मेदवारी फिर्ता लिन लगाउने निर्णय गरेको थियो । फिर्ता नहुनेलाई आ–आफ्नो पार्टीको नीतिअनुसार कारबाही गर्ने गठबन्धनबीचको सहमतिअनुसार कांग्रेसले बागी उम्मेदवारलाई स्वतः पार्टीबाट निस्कासन गरेको छ ।
यस्तै, बागी उम्मेदवारी फिर्ता नलिने सत्ता गठबन्धनसम्बद्ध अन्य दलका नेताकार्यकर्ता पनि निलम्बनमा परेका छन्, यद्यपि अन्य दल धेरैजसो बागी उम्मेदवारी फिर्ता गराउन सफल भएका छन् । गठबन्धनभित्र बागी उम्मेदवार कायमै रहेका ठाउँमा प्रमुख विपक्षी दल एमालेलाई भने राहत मिलेको छ ।