काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी ओलीलाई “बालकोटको बारदलीमा बसेर बरबराउने बा”को संज्ञा दिनु भएको छ ।
उहाँले अध्यक्ष ओलीलाई बरबराउने छुट भएको उल्लेख गर्दै त्यसलाई पत्याउने वा नपत्याउने कुरा आम नागरिकमा भर पर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले अधिकांश विषयमा झुट र आवेशपूणर् कुरा मात्रै गर्ने गरेको र झुट देखाइदिएपछि उहाँ बरबराउने गरेको महामन्त्री थापाको आरोप छ ।
काँग्रेसको घोषणापत्रलाई अध्यक्ष ओलीले “पागलहरुको प्रलाप” को संज्ञा दिएपछि महामन्त्री थापाले त्यसलाई आफुले स्वभाविक रुपमा लिएको बताउनुभयो ।
काँग्रेसको घोषणापत्रको सुरुमा ओली सरकारका झुटहरुको पर्दाफास गरिएकाले असह्य भएर उहाँले पागल भन्नु नौलो नभएको थापाको भनाई छ ।
“उहाँका झुटलाई कसैले चुनौती दियो भने उहाँले सवैलाई पागल भन्ने गर्नु भएको छ,” महामन्त्री थापाले भन्नुभयो ।
अध्यक्ष ओलीले विगतमा तत्कालिन प्रधानन्यायाधिश शुशिला कार्की, चिकित्शा शिक्षा सुधार अभियान्ता डा। गोविन्द केसीलगायतलाई पनि पागल भन्नु भएको थापाले चर्चा गर्नुभयो ।
काठमाडौ जिल्ला सम्पर्क समन्वय समितिले काठमाडौमा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “आफ्नो झुटहरुको एकपछि अर्को पर्दाफास भएपछि उहाँ सनक्क सन्कीनुभयो, अनि त्यस्तो शब्द आयो, बा सन्कीने बानी छोड्नु, स्वास्थ्यमा समस्या पर्नसक्छ ।”
काँग्रेसको घोषणापत्रका विषयबस्तुमाथी टिप्पणी गरेको भए आफुहरु सिक्न र सुधार गर्न तयार रहेर ओलीको भाषण सुनेपनि विषयबस्तुमा कुनै टिप्पणी नपाएको थापाले बताउनुभयो ।
अध्यक्ष ओलीलाई लजिक मन नपर्ने र म्याजिक मात्रै मन पर्ने भएकाले काँग्रेसको घोषणापत्र उहाँलाई मन नपरेको महामन्त्री थापाको भनाई छ ।
काँग्रेसको घोषणापत्रमा काल्पनीक र असंभव कुरा केही नलेखिएको दावी गर्दै उहाँले व्यवहारिक र कार्यान्वयन गर्न सकिने विषय मात्रै समेटिएको उल्लेख गर्नुभयो ।
अध्यक्ष ओलीलाई भक्तिगानको एकलाप सुन्ने बानी परेकाले अरुको आलोचना र खण्डन सह्य हुन नसकेको उहाँको भनाई छ ।
तर उहालाई असह्य भयो भन्दैमा काँग्रेसले उहाँको झुटको पर्दाफास गर्न नछाड्ने महामन्त्री थापाले बताउनु भयो ।