काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि माओवादी केन्द्रले केन्द्रबाट घोषणा पत्र वा प्रतिवद्धता पत्र नबनाउने भएको छ । माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि गत चैत २२ मा अपिल सार्वजनिक गरेको थियो ।
त्यही अपिलअनुसार स्थानीय तहले आ–आफ्नो घोषणा पत्र बनाउने माओवादी केन्द्रका नेता हरिबोेल गजुरेलले बताउनुभयो । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले पनि स्थानीय तहले अपिललाई मार्गदर्शन मानेर घोषणा पत्रबनाउने बताउनुभयो ।
माओवादीले जारी गरेको अपिलमा टोल–टोलमा सहकारी र घर–घरमा रोजगारीको व्यवस्था गर्ने, एक टोल एक उद्यम–एक टोल एक उत्पादन, बेरोजगारी अन्त्य, गरिबी निवारण कार्यक्रम लागू गर्ने जस्ता नीतिगत विषय समेटिएका छन् । ती नीतिअन्तर्गत नै रहेर माओवादीका कमिटीहरुले घोषणा पत्र बनाउने बताइएको छ ।