काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि पार्टीका तर्फबाट महानगर र उपमहानगरपालिकामा लड्ने उम्मेदवारको टुंगो लगाउने जिम्मा सभापति शेरबहादुर देउवालाई सुम्पिएको छ । आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देउवालाई उम्मेदवार टुंगो लगाउने जिम्मेवारी दिएको हो ।
बैठकले महानगरपालिकाको टिकट वितरणका लागि १४ सदस्यीय संसदीय समिति गठन गरेपनि अन्ततः देउवालाई नै टिकट वितरणको अधिकार प्रत्यायोजन गरिएको हो । यस्तै उपमहानगरपालिकाको टिकट प्रदेश संसदीय बोर्डले वितरण गर्ने वैधानिक व्यवस्था भएकामा त्यो अधिकार पनि खोसेर देउवामा प्रत्यायोजित गरिएको छ ।
अब देउवाले पार्टीका तर्फबाट लड्ने मेयर तथा उपमेयरको उम्मेदवार नेताहरूसँगको परामर्शको आधारमा टुंगो लगाउने उपसभापति पूर्णबहादुर खड्काले बताउनभुयो । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा मेयर पदमा उम्मेदवार उठाउने छ भने वीरगन्ज, भरतपुर र पोखरामा उपमेयर पदमा उम्मेदवार उठाउने छ ।
यस्तै उपमहानगरतर्फ धरान, इटहरी, कलैया, बुटवल, तुल्सीपुर, नेपालगन्ज र धनगढीमा मेयर उम्मेदवार उठाउने छ । यसैगरी जितपुर सिमरा, घोराही र हेटौडामा उपमेयर भाग पाएको छ ।