काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णयले नेपाली कांग्रेस परित्याग गर्नेको लर्को लागेको छ । सत्ता गठबन्धनबीच चुनावमा तालमेल गरेर जाने सहमति अनुसार सिट बाँडफाँड भएपछि तल्लो तहका कांग्रेस नेता–कार्यकर्ताले पार्टीबाट विद्रोह गर्न थालेका हुन् ।
आज कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाका सभापतिसहितका नेताहरुले सामूहिक राजीनामा दिएका छन् । पत्रकार सम्मेलन गर्दै आफ्नो पार्टी मजबुत हुँदाहुँदै पनि गठबन्धनका नाममा जनता समाजवादी पार्टी (जसपा) लाई उपमहनगरको नेतृत्व दिइएको भन्दै नगरसभापति मनोज साहले पार्टी परित्यागको घोषणा गर्नुभयो ।
नगर सभापति साहले आफूसहित १५० जनाभन्दा बढीले पार्टी छाडेको दाबी गर्नुभएको छ । आजै कैलालीका कांग्रेस कार्यकर्ताहरुले पनि असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१८ का वडा सभापति भक्तबहादुर थापासहितका ९१ जना क्रियाशील सदस्यले सामूहिक राजीनामा दिएका हुन् ।
पार्टीको जित निश्चित हुँदा हुँदै वडा माओवादी लाई सुम्पिएको भन्दै उनीहरुले राजीनामा दिँदै स्वतन्त्र उमेदवार उठाउने निर्णय गरेको जानकारी दिएका छन् । यसअघि चितवनको भरतपुर महानगरपालिकाको बिषयलाई लिएर केही दिन अघि कांग्रेसका ५० कार्यकर्ताले सामूहिक राजीनामा दिएका थिए ।
तर, कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले भने गठबन्धनको निर्णयले कार्यकर्ता आवेगमा आउनु स्वभाविक भएको बताउनुहुन्छ । तल्लो तहका नेता कार्यर्ताले अहिले राजीनामा दिएजस्तो गरे पनि टिकट वितरण गरेर चुनावी रफ्तार सुरु भएपछि सबै ठीक हुने प्रवक्ता महतको विश्वास छ ।
यता, प्रधानमन्त्री तथा मन्त्रिपरिष्को कार्यालयमा जिम्मेवारी सम्हाल्दै आउनुभएका कांग्रेस नेता उमेश श्रेष्ठ कुन अवस्थामा गठबन्धन बनेको हो भनेर सबैले बुझ्न आवश्यक रहेको बताउनुहुन्छ । अहिले भएको सिट बाँडफाँडलाई इमान्दारीताका साथ कार्यान्वयन गरेर जाँदै नै गठबन्धन सफल हुने उहाँको बुझाइ छ ।
त्यसो त कांग्रेसभित्र केन्द्रमै पनि अधिकांश नेता चुनावी गठबन्धनको विक्षमा छन् । संस्थापन इतरपक्षका केन्द्रीय नेताहरु तालमेलको विक्षमा रह पनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको जोडमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल हुने पक्का भएको हो । तर तालमेल तथा सिट बाँडफाँडसँगै तल्लो तहका नेता–कार्यर्ताले धमाधम पार्टी परित्याग गर्न थालेपछि भने यसले कांग्रेसलाई धक्का पुग्नसक्ने देखिएको छ ।