Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

चापाकोटको मेयरमा सुन्दर भण्डारी नै किन ?

चापाकोटको मेयरमा सुन्दर भण्डारी नै किन ?

  • बुधवार, बैशाख ७ २०७९

  • 896
    SHARES

  • चापाकोटको मेयरमा सुन्दर भण्डारी नै किन ?

    स्याङ्जा । स्थानीय तह निर्वाचन आउन अब २३ दिन बाँकी छ । देश यतिबेला निर्वाचनमय बनेको छ । दलहरु आफ्ना उम्मेदवार छान्न केन्द्रित छन् भने पदका आकांक्षीहरु उम्मेदवारीको लागि टिकट ल्याउन दौडधुपमा छन् ।

    स्याङ्जाको चापाकोट नगरपालिकाको मेयर बन्न आकाक्षीहरुले पनि स्थानीय भेटघाटदेखि केन्द्रीय नेतासम्म लविइङ गरिरहेका छन् । नेपाली काँग्रेस चापाकोटबाट टिकटका लागि लविङ गरिरहेका मध्ये एक हुन् सुन्दर भण्डारी ।

    को हुन् भण्डारी ?

    सहिद नेत्र भण्डारीको एक मात्र छोरा सुन्दर भण्डारीको जन्म चापाकोट ९, (साविक चापाकोट ६, सुन्तौलिटार) भएको थियो ।
    पढाईमा निकै अब्बल रहनुभएका भण्डारीले २०५३ सालमा गंगालाल माविबाट एसएलसी गर्नुभयो ।

    त्यसपछि उहाँले पश्चिमाञ्चल इन्जिनियरिङ कलेजबाट आई., कान्तिपुर इन्जिनियरिङ कलेज, काठमाडौंबाट बीई, नेपाल इन्जिनियरिङ कलेज पोखरा विश्वविद्यालयबाट एमई गर्नुभएको छ ।

    को हुन् सहिद नेत्र भण्डारी ?

    १० वर्षसम्म चलेको जनयुद्धमा सरकार र विद्रोही पक्षबाट गरी स्याङ्जाको चापाकोटले १८ जनालाई गुमायो भने कैयौँ घाइते भए ।
    तिनै गुमाउने १८ जनामध्ये एक हुन् नेत्र भण्डारी । विसं. २०४४ सालमा भएको प्रधानपञ्चको चुनावमा विजयी भण्डारीले बहुदल आएपछि नेपाल काँग्रेसमा लागेर सक्रिय राजनीति गर्नुभयो ।

    विसं २०५८ कात्तिक १४ को चापाकोट घटनापछि कात्तिक १७ गते विद्रोही पक्षले घरमै सुतिरहेको बेला नेत्र भण्डारीको अपहरण गरी निर्घात कुटपिट गरी हत्या गरेको थियो । भण्डारीको शव विद्रोही पक्षले उहाँको परिवारलाई समेत दिएनन् । उहाँको एक मात्र छोरा सुन्दर भण्डारी अहिले चापाकोट नगरपालिकाको मेयरको आकांक्षी भएर लाग्नुभएको छ ।

    पेशाले इन्जिनियर, विदेशी दातृ निकायसँगको सम्बन्ध, सहिद परिवार भएको हुँदा पनि उहाँले टिकट पाउने सम्भावना बढी भएको र टिकट पाएमा सर्वाधिक मत सहित विजयी हुने काँग्रेस कार्यकर्ताले दाबी गरेका छन् ।

    पेशागत संलग्नता

    उहाँले सन् २००१ बाट इन्जिनियरिङ क्षेत्रलाई व्यावसायिक पेशाको रुपमा अङ्गालनु भयो । सन् २००७ देखि २००८ सम्म, नेपाल सरकार तथा एसियन डेभ्लभमेन्ट बैंक (एडिबी) को आर्थिक सहायतामा सिभिल इन्जिनियरिङ, सन् २००१ देखि २०१० सम्म वैकल्पिक उर्जा प्रवद्र्धन केन्दमा उर्जा तथा वातावरण अधिकृत र सन् २००१ देखि २०१० सम्म खाद्याय कार्यक्रममा सिभिल इन्जिरियरको रुपमा रहेर भण्डारीले काम गर्नुभयो ।

    सन् २०१० देखि २०२१ सम्म सहरी विकास मन्त्रालयअन्तर्गत नगर विकास कोषमा वरिष्ठ इन्जिरियरको रुपमा कार्यरत भण्डारी बस्ती विकास आयोजना र डिपिआर निर्माणको विज्ञको रुपमा कार्यरत हुनुहन्थ्यो । उहाँसँग एक सय भन्दा माथिका ठूला प्रोजेक्टमा काम गरेको अनुभव छ ।

    राजनीतिक संलग्नता

    परिवारिक राजनीतिक पृष्ठभूमिमा जन्मनु भएका भण्डारी विसं २०५१ देखि २०५३ सम्म सिइडिइएन (सेन्ट्रल फर डेमोक्रटिक इन्जिनियर) को सभापति भएर काम गर्नुभयो । त्यसैगरी उहाँले नेविसंघको विभिन्न ठाउँमा विभिन्न पदमा बसेर पनि काम गरेको बताउनुभयो ।

    बुबाको हत्या पछि वृद्ध हजुर बुबा, हजुरआमा र आमाको रेखदेख गर्ने जिम्मेवारी उहाँको काँधमा आइपर्यो । जनयुद्धको समयमा उहाँलाई घरमा राम्रोसँग बस्ने वातावरण नभएपछि अस्थायी रुपमा काठमाडौं बस्न थाल्नुभयो ।

    नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि भएर केन्द्रीय महाधिवेशन प्रतिनिधि लड्ने योजना बनाएर राजनीतिमा होमिनु भएका भण्डारीलाई वडाबाट नै क्षेत्रीय प्रतिनिधि बन्न बन्चित गरियो । काँग्रेसको विधान अनुसार क्षेत्रीय प्रतिनिधि नभएको व्यक्ति महाधिवेशन प्रतिनिधि उठ्न नपाउने प्रावधान अनुसार उहाँ महाधिवेशन प्रतिनिधि लड्न पाउनुभएन् ।

    राजनीतिमा होमिनुभएका भण्डारीलाई वडास्तरबाटै क्षेत्रिय प्रतिनिधि पनि जान नपाएपछि झन शशक्त भएर लाग्नुभयो । उहाँलाई क्षेत्रीय प्रतिनिधि नबनाएकोमा भनेर काँग्रेस चापाकोटमा ठूल्लै खैलाबैला भयो । नेपाली काँग्रेसको चापाकोट नगर अधिवेशनबाट उहाँ नगर उपसभापतिमा निविर्राेध निर्वाचित हुनुभयो । अहिले उहाँ नगरको राजनीतिमा सक्रिय भएर लागि रहनुभएको छ ।

    सुन्दर भण्डारी राजनीतिमा नै किन ?

    आफ्नो व्यवसायिक र कुशलताका कारण कर्मचारी वृतमा लोकप्रिय भण्डारी सहिद परिवार, पुरानो राजनीतिक पृष्ठभूमि तथा जिल्लाले नै चिनेका नेत्र भण्डारीको छोरा हुनु मात्रै मेयरका लागि हुनुपर्ने गुण भने होइन । पेशागत दक्षता, इमानदारीता, लगनशीलता र छोटो समयमा नै उहाँले प्राप्त गरेको पेशागत र व्यवसायिक सफलता राजनीतिमा आउन सक्यो भने चापाकोटले एउटा सफल, सक्षम र हुनाहर नेतृत्व प्राप्त गर्ने स्थानीयको अपेक्षा छ ।

    यस्ता छन् भण्डारीका योजनाहरु ?

    नेपाली काँग्रेस चापाकोटबाट मेयरका आकांक्षी रहनुभएका सुन्दर भण्डारीले चापाकोट नगरपालिकाको विकासलाई पिपिपि मोडलमा अगाडि बढाउने योजना बनाएको दावी गर्नुभयो ।

    उहाँले भन्नुभयो, “अब चापाकोटको विकासको लागि स्थानीय, प्रदेश र संघीय सरकारको बजेट मात्रै नभई डोनर एजेन्सी (एडीवी, वल्ड बैंक, जाइका, युएस एड) बाट पनि पैसा ल्याएर नगरपालिकाको विकास गर्न आवश्यक छ ।”

    चापाकोट सहर उन्मुख नगरपालिका भएकोले यहाँको बस्तीलाई व्यवस्थित गराउन आवश्यक छ, उहाँले भन्नुभयो । यसको लागि सुविधा सम्पन्न वस्ती विकास गर्ने योजना बनाएको छु । नगरभित्रको हालको करको दायरा घटाउने र पाँच वर्षभित्र नगरपालिकाको कार्यालयदेखि प्रत्येक वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे गर्ने भण्डारीले दाबी गर्नुभयो ।

    नगरपालिकाको वडा नं १, २ को माथिल्लो भाग, ३, ४, ५ र ६ को केही भागबाट बसाइ सराई दर धेरै छ, मेयरका आकांक्षी भण्डारीले भन्नुभयो, “यसको न्यूनीकरण गर्न अध्ययन गरी दर घटाउनका लागि सुविधा विस्तार गर्ने र पालिकाको स्रोत र साधनहरुको समानुपातिक तरिकाले वितरण गर्छु ।”

    साना तथा मझौला उद्योगको सम्भाव्यता अध्ययन गरी निजी लगानीकर्तालाई प्रोत्साहन गरी स्वरोजगार तथा रोजगारीको व्यवस्था गर्ने भण्डारीले दावी गर्नुभयो । उहाँले भन्नुभयो, व्यवसायिक रुपमा कृषि खेती गर्न प्रोत्साहन गर्नको लागि कृषकहरुलाई तालिम, औजार, कृषि विज्ञदेखि बजारीकरणमा आवश्यक समन्वय गर्छु ।

    किसान प्राविधिक शिक्षालय, चापाकोट क्याम्पस, प्रस्तावित कृषि क्याम्पस र सार्वजनिक विद्यालयहरुलाई उच्च प्राथमिकतामा राखि भौतिक निर्माण एव् गुणस्तरीय शिक्षा बनाउन योजना बनाएर काम गर्ने छु । सम्भाव्यता अध्ययन भएको जलासयलाई डिपिआरको प्रक्रिया अगाडि बढाउने उहाँले बताउनुभयो ।

    कालीगण्डकी धार्मिक पर्यटनको रुपमा विकास गर्ने संघीय सरकारको योजनालाई साथ दिदै केलादी, उत्तरगंगा जस्ता धार्मिक महत्वको स्थानलाई प्रचार प्रसार गरी जलयात्राको सम्भावना खोजी गर्नेछु । उहाँले भन्नुभयो, “घनौसा पार्क, सितलपार्क, रामडाँडाको गुरुयोजना बनाएर आन्तरिक र वाहय पर्यटन आकर्षित गर्न योजना बनाएर काम गर्ने र बच्चा तथा वृद्धाहरुको लागि पार्क निर्माण गर्छु ।”

    मेयरका आकांक्षी भण्डारी भन्नुभयो “आफूले चापाकोट नगरपालिकाको लागि बनाएको स्थानीय निर्वाचन २०७९ को चुनावी एजेण्डालाई अन्तिम रुप दिने गरी काम भइरहेको हुँदा छिट्टै नै यसलाई पूर्ण रुपमा सार्वजनिक गर्छु ।”


    बुधवार, बैशाख ७ २०७९०९:५९:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij