काठमाडौँ । नेकपा माओवादी केन्द्रले कांग्रेसको घमण्ड र नेकपा एसको हैसियतभन्दा बढी दाबीका कारण चुनावी गठबन्धन पेचिलो बनेको निष्कर्ष निकालेको छ । कांग्रेस लचिलो नबने बाँकी चार दलको मात्र गठबन्धन गर्ने विकल्पमा समेत माओवादीभित्र छलफल भएको छ ।
आज अध्यक्ष प्रचण्डले बोलाएको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा उपमहानगरपालिकाको भागबण्डा मिलाउन गाह्रो भएको ब्रिफिङ सुनेपछि नेताहरुले देशब्यापी तालमेलको सम्भावना नरहेको निष्कर्ष निकालेका छन् । कांग्रेसले ८ वटा उपमहानगरपालिका दावी गरेपछि समस्या आएको प्रचण्डले सुनाउनुभएको थियो ।
माओवादीले पनि ११ मध्ये ४ वटा उपमहानगरपालिका लिने प्रयास गरिरहेको छ । बैठकमा ६ मध्ये २ महानगरपालिकाको हैसियत माओवादीको भए पनि एउटामात्र मात्र चित्त बुझाउनु परेकाले ११ मध्ये ४ वटा उपमहानगरपालिका नछाड्न नेताहरूले प्रचण्डलाई दबाब दिएका छन् ।
पूर्वस्थायी कमिटी सदस्यहरू सम्मिलित बैठकमा प्रचण्डले गठबन्धनमा सहमतिका लागि अहिलेसम्म भएका प्रयासहरुको जानकारी दिएको केन्द्रीय लेखा आयोगका अध्यक्ष पेशल खतिवडाले बताउनुभयो ।
नेकपा एसले जनमत नै नभएका ठाउँमा पनि अनावश्यक दाबी गर्दा गठबन्धनमा सहमति हुन नसकेको बैठकमा ब्रिफिङ भएको थियो । कतिपय नेताले जिल्ला र पालिकास्तरीय छलफलको ब्रिफिङ गर्ने क्रममा गठबन्धनमा नेकपा एस घाँडो भएको र कांग्रेस घमण्डी भएको टिप्पणी गरेका थिए ।