काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिकाको चुनावी तालमेलबारे टुंगोमा पुग्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ । महानगर र उपमहानगरपालिकाको भागवण्डा टुंग्याउन अहिले बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
जनमोर्चाका नेता हिमाल पुरीका अनुसार बैठकबाट सिटको बाँडफाँटबारे निर्णय हुन सक्नेछ । माओवादी केन्द्रले भरतपुर महानगरपालिकासँगै धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरपालिकामा दाबी गरेको छ । हिजो बसेको गठबन्धन बैठकमा दलहरुले आ आफ्नो दाबी प्रस्तुत गरेका थिए ।
काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले ६ वटा महानगर र ११ वटा उप–महानगरपालिमा आआफ्नै अडान कायम राखेका छन् । एकीकृत समाजवादीले पोखरा महानगरमा दाबी गरेको छ ।
यस्तै जसपाले दुई महानगर र तीन उपमहानगरपालिका दाबी गरेको छ । तर काँग्रेसले सबै ठाउँमा दाबी गरेको छ । गठबन्धनभित्र यसले सिटको भागबण्डा नै टुंगिएको छैन ।
निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि दुई दिन सयम छुट्याएको छ । मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी रहँदा सत्ता गठबन्धनले महानगर र उपमहानगरपालिमासमेत सिटको भागबण्डा मिलाउन सकेको छैन ।