काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले कैलालीका स्थानीय तहमा सत्ता गठबन्धनसँग चुनावी तालमेल नगर्ने भएको छ । जसपाले पाँच दलीय गठबन्धन तोडेर लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च कैलालीसँग तालमेल गर्ने निर्णय गरेको हो ।
आज कैलालीको धनगढीमा चार दलले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने बताएका हुन् । पाँच दलीय गठबन्धनले अन्य दलसँग चुनावी तालमेल गर्न नपाइने नीति बनाएपनि जसपाले कैलालीमा तोडेको हो ।
उता, कर्णालीमा भागबण्डा विवादले गठबन्धन नै धरापमा परेको छ । कर्णाली प्रदेशमा माओवादी केन्द्रले आफूले जितेको स्थानबाहेक कांग्रेसले जितेको ठाउँमा पनि भाग खाजेपछि र नेकपा एकीकृत समाजवादीले गएको निर्वाचनमा एमालेले जितेको सबै स्थानमा स्वतः अंश मागेपछि गठबन्धन नै धरापमा परहेको हो ।
यस्तै, मधेश प्रदेशमा गठबन्धनको प्रमुख घटक कांग्रेस तालमेल गर्न अनिच्छुक देखिएको छ । यसैगरी, ओखल्ढुंगा, मोरङ र भोजपुरमा पनि गठबन्धनभित्र सहमति जुट्न कठिन देखिएको छ । यता, सिन्धुलीको सुनकोसी गाउँपालिकामा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने निर्णयसहित कांग्रेसले जिल्ला र प्रदेशस्तरीय गठबन्धन संयन्त्रलाई औपचारिक पत्र पठाएको छ ।