काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनमा एक्लै लड्नुपर्ने पक्षमा रहेका कांग्रेस नेता–कार्यकर्ताको अडानका कारण सत्ता गठबन्धन अन्योलको भूमरीमा फसेको छ । गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेल हुँदा पार्टीलाई घाटा हुने विश्लेषण गर्दै एक्लै लड्नुपर्ने नभए तल्ला तहका कार्यसमितिले गरेको निर्णयमाथि केन्द्रले हस्तक्षेप गर्न नहुने नेता–कार्यकताहरुको आडानले गठबन्धनभित्र अन्योल सिर्जना गरेको हो ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको दबाबमा सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय केन्द्रबाट भएपनि त्यसलाई स्वीकार्ने पक्षमा कांग्रेस पादाधिकारी नै देखिँदैनन् । गठबन्धनमा रहेका दलहरुसम्बद्ध तल्लो कार्यसमितिले अहिले देशभर छलफल गरिरहेको छ । उक्त छलफलमा कुरा मिलेको खण्डमा मात्र चुनावी गठबन्धन गर्नुपर्ने नभए केन्द्रले थप दबाब दिन नहुने कांग्रेस महामन्त्री गगन थापा बताउनुहुन्छ ।
कांग्रेसभित्र मुख्यगरी संस्थापन इतर पक्ष चुनावी तालमेलको विक्षमा छ । तल्लो तहमा ठूलो जनमत पार्टीको पक्षमा रहेको ठहरसहित कांग्रेस एक्लै लड्नुपर्नेमा डा. शेखर कोइरालाको जोड छ । गठबन्धनमा रहेका अन्य दलहरु वडा तहसम्म नै तालमेल गर्ने पक्षमा रहे पनि कांग्रेसलाई घाटा पुग्ने गरी तालमेल गर्नै नहुने उहाँ बताउनुहुन्छ । काठमाडौँमा बसेर तल्लो तहको अवस्थाबारे थाहा नुहने भन्दै उहाँले त्यसबारे तल्लै तहका नेता–कार्यकर्ताहरुसँग छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने उहाँको भनाइ छ ।
२०७४ को निर्वाचनमा कम्युनिष्टहरुले झण्डै दुईतिहाई ल्याएर पनि जनताले अपेक्षा गरेअनुरुपको ठूलो परिवर्तन मुलुकमा नआएको महसुस जनताले गरिरहेको कांग्रेसको आंकलन छ । तसर्थ यसपटक आफूहरुकै पक्षमा ठूलो जनतम रहेको र चुनावमा एक्लै जाँदा पार्टीलाई बढी फाइदा पुग्ने अधिकांश कांग्रेस नेता–कार्यकताको ठहर छ ।
गठबन्धनको प्रमुख घटक कांग्रेसभित्र केन्द्रदेखि तल्लो तहसम्म मतैक्यता नहुँदा उम्मेदवार सिफारिस तथा उम्मेदवारबारे टुंगोमा पुग्न पाँच दलीय गठबन्धनलाई थप सकस परेको छ ।
कांग्रेसभित्र मात्र नभइ गठबन्धनको अर्को घटक माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पनि पार्टीलाई फाइदा पुग्ने गरी अघि बढ्ने आ–आफ्नै रणनीति छ । अहिले गठबन्धनमा रहेका दलहरु के गर्दा पार्टीलाई बढी लाभ पुग्छ भन्ने जोडघटाउमै व्यस्त देखिन्छन् ।