काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनका लागि विभिन्न दलसम्बद्ध नेताहरुले उम्मेदवारका लागि आ–आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् । कतिपय ठाउँमा केन्द्रस्तरका नेताहरु पनि पालिकाको नेतृत्व गर्न अग्रसर देखिएका छन् भने स्थानीयस्तरकै नेताहरु पनि आफ्नो क्षेत्रमा उम्मेदवारी प्रस्तुत गर्न तँछाडमछाडको स्थितिमा देखिन्छन् ।
केही स्थानीय तहमा एउटै दलका धेरै आकांक्षी हुँदा उम्मेदवारी टुंग्याउन दलहरुलाई सकस परिरहेका छ । त्यसमध्ये एउटा नवलपुरको देवचुली नगरपालिका पनि हो, जहाँ सत्ता गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेसबाट मात्र नगर सभापति डिल्लीराम कडरियासहित १३ जना नगर प्रमुख पदका आकांक्षी छन् ।
बुधबार नेपाली काँग्रेस देवचुली नगर कार्य समिति बसेको भेलामा १३ जनाले नगरप्रमुख र ८ जनाले उपप्रमुख पदमा दाबी गर्दै नाम दर्ता गराएका हुन् । नगरप्रमुख पदका लागि निजामती क्षेत्रमा लामो अनुभव बटुल्नुभएका देवराज लामिछाने पनि आकांक्षी हुनुुहुन्छ । सुशासनका क्षेत्रमा पनि महत्वपूर्ण योग्दान पुर्याउनुभएका लामिछानेको सम्भावना बलियो रहेको बताइन्छ ।
बलियो दाबेदार लामिछानेसँगै डिल्लीराम कडरिया, धर्मराज बस्याल, भोजेन्द्र रायमाझी, विष्णु प्रसाद भुसाल, रेशमलाल सापकोटा, ढाकाराम भट्टराई, अशोक बस्ताकोटी, गौरीश्वर न्यौपाने, डिल बहादुर खत्री, रविलाल सापकोटा, उदय राज अधिकारी, लक्ष्मी बस्ताकोटीले पनि मेयर पदका उम्मेवारमा दाबी प्रस्तुत गरेका छन् ।
यसैगरी उपमेयर पदका लागि पनि आकांक्षी धेरै देखिएका छन् । निर्मला पाण्डे, रेनुका न्यौपाने बस्ताकोटी, रत्नामाया विश्वकर्मा, धनेश्वरी ढकाल कोइराला, धनमाया भुसाल, सम्झना सापकोटा, खिमा सारु, धनमाया खड्काले दाबी गरेका छन् ।
यसैबीच, कांग्रेस देवचुली कार्यसमितिले आज आफ्नो भावि कार्यक्रमलाई समेटेर क्यालन्डर पनि सार्वजनिक गरेको छ । ‘समुन्नत देवचुली, सम्मानित देवचुलीवासी’ भन्ने मुल नाराका साथ आफ्नो भावि कार्यक्रम लाई क्यालेन्डरमा समावेस गरी क्यालेन्डर प्रकाशन गरिएको हो ।