काठमाडौँ । नेकपा एमाले र राप्रपा नेपालबीच स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति जुटेको छ । दुवै पार्टीबीच देशभरिका तालमेल सम्भव भएका पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने सहमति भएको हो ।
सहमतिपत्रमा राप्रपाका उम्मेदवारले नेकपा एमालेको सूर्य चुनाव चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने उल्लेख छ । चुनावी तालमेलका सन्दर्भमा एमाले र राप्रपा नेपालबीच ५ बुँदे सहमति समेत भएको छ । सहमतिमा एमालेका तर्फबाट स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र राप्रपाका तर्फबाट स्थानीय निकाय परिचाल विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
दुवै पार्टीबीच भएको सहमतिमा तालमेलको विषयमा छलफल तथा सहकार्यका लागि प्रस्ताव तयार गर्ने अधिकार जिल्ला कमिटीलाई दिइएको छ । जिल्ला कमिटीले सिफारिस गरेको आधारमा पार्टीको केन्द्रीय तहको अनुमतिपछि तालमेलको सहमति कार्यान्वयन हुने सहमतिमा उल्लेख छ ।
