काठमाडौँ । स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने बैठकमा निर्वाचन सफल बनाउनेबारे छलफल हुने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।
गठबन्धनका उम्मेदवार जिताउनेबारे विस्तृत छलफल र चुनावी तालमेलको मापदण्डबारे पनि निष्कर्षमा पुग्ने उहाँले बताउनुभयो । गठबन्धनका शीर्ष नेताहरूले हिजो संयुक्त अपिल जारी गर्दै नेता–कार्यकर्तालाई सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न आह्वान गरेका थिए ।
देशैभर ठाउँ र अवस्थाअनुसार तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न उनीहरुको आग्रह छ । तर गठबन्धनभित्र तालमेलको मापदण्डबारे सहमति भइसकेको छैन ।