काठमाडौँ । आगामी बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन हुने÷नहुनेबारे आमजनता स्पष्ट हुन नसकिरहेका बेला सत्ता गठबन्धनको एउटा घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले चुनाव सर्ने संकेत गर्नुभएको छ ।
आज पार्टीनिकट दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले २०७४ असोजमा निर्वाचित जनप्रतिनिधिको ५ वर्ष काम गर्न पाउने संवैधानिक अधिकार यो चुनाव घोषणाले हनन् गरेको भन्दै आसन्न चुनाव पछि धकेलिन सक्ने संकेत गर्नुभएको हो । यद्यपि उहाँले भोलि जे होला होला भन्दै अहिलेलाई तयारीमा जुट्न नेता–कार्यकतालाई निर्देशन दिनुभयो ।
यसअघि सत्ता गठबन्धनले पहिला संसदीय निर्वाचन र त्यसपछि मात्र स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव अघि सारेको थियो । त्यसको सर्वत्र विरोध भएपछि बाध्य भएर सत्तारुढ दलहरुले देखावटी रुपमा स्थानीय चुनावको मिति तोकेका प्रमुख प्रतिपक्षी नेकपा एमालेको आरोप छ । सत्ता गठबन्धनले अगाडीदेखि नै चुनाव सार्ने षड्यन्त्र गरिरहेको भन्दै फेरि चुनाव पछि धकेलिन्छ भने यो कुनै नौलो विषय नभएको एमाले प्रमुख सचेतक विशाल भट्टराई बताउनुहुन्छ ।
यता, निर्वाचन आयोगले बैशाख ३० लाई नै लक्षित गरेर तयारीलाई तीब्रता दिएको बताएको छ । जनशक्ति नियुक्ति तथा तालिम, आचारसंहिता लागु, सामाग्रीहरु निर्वाचन केन्द्रमा पठाउने तथा मतपत्र छपाईका काम पनि निक्कै अघि बढिसकेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालको भनाइ छ । निर्वाचन सर्ने भएको खण्डमा आयोगसँग परामर्श हुने भन्दै उहाँले आफूहरुले भने त्यसबारे एक प्रतिशत पनि नसोचेको बताउनुभयो ।
यसअघि हिजो प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्षका शीर्ष नेताहरुको अनौपचारिक बैठक बसेको थियो । बैठकमा स्थानीय चुनाव सार्नेबारे पनि छलफल भएको स्रोतले बताएको थियो । तर कुनै पनि हालतमा बैशाख ३० को चुनाव सार्ने वा यताउता गर्ने पक्षमा नरहेको गठबन्धनकै नेताहरुले बताएका छन् ।
कतिपयले विप्लव माओवादीलाई समेत चुनावमा ल्याउनका लागि निर्वाचन कार्यक्रम पछि सार्ने सत्तापक्षबाट तयारी भइरहेको चर्चा गरेका छन् । तर यसबारे चासो राख्दा त्यो सही नभएको सत्तारुढ दलहरुले बताएका छन् ।
यसैबीच, ५ वर्षे कार्यकाल पूरा गर्न पाउनुपर्ने भन्दै महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सन्जिवकुमार सिंहले सर्वोच्चमा दायर गर्नुभएको रिटको सुनुवाइका लागि वैशाख २ गते पेशी तोकिएको छ ।