Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निर्वाचन आचारसंहिता प्रतिबद्धता पत्रमा एमालेले किन गरेन हस्ताक्षर?

निर्वाचन आचारसंहिता प्रतिबद्धता पत्रमा एमालेले किन गरेन हस्ताक्षर?

  • मंगलवार, चैत्र २२ २०७८

  • 756
    SHARES

  • निर्वाचन आचारसंहिता प्रतिबद्धता पत्रमा एमालेले किन गरेन हस्ताक्षर?

    काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तह निर्वाचन आचारसंहितामा प्रतिबद्धतास्वरुप हस्ताक्षर गरेको छैन । मंगलबार(आज) निर्वाचन आयोगले ३० वैशाख २०७९ मा हुने स्थानीय तहको निर्वाचनका लागि मान्यता पाएका ७९ दलहरूलाई निर्वाचन आचारसंहितामा प्रतिबद्धताका लागि बोलाएको थियो ।

    बैठकको वातावरण स्वस्थ नभएको भन्दै एमालेका प्रतिनिधिले निर्वाचन आचारसंहिता प्रतिबद्धता पत्रमा हस्ताक्षर नगरी बाहिरिएका हुन् । एमालेका तर्फबाट आयोगले बोलाएको बैठकमा एमाले कानुन विभागका प्रमुख रमेश बडाल र निर्वाचन विभाग उपप्रमुख निरज आचार्य सहभागी थिए ।

    निर्वाचन विभाग उपप्रमुख आचार्यले बैठकमा साना दल र निर्वाचन आयोगका पदाधिकारीबीच अस्वस्थ बहस भएकाले आफूहरू बाहिरिएको बताए ।

    निर्वाचन आचारसंहितामा एमाले प्रतिबद्ध भएको तर केही कुरा राख्नुपर्ने पनि रहेकाले होहल्लाबीच हस्ताक्षर नगरिएको आचार्यको भनाइ थियो ।

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय निर्वाचन आयोगको आलोचना गर्दै आएका छन् । मतपत्रको रङ, आचारसंहितामा गरिएका व्यवस्थादेखि मनोनयनको समयलाई लिएर उनले आयोगका पदाधिकारीको विरोध गर्दै आएका छन् । उनले आयोगका पदाधिकारीहरू सत्तारुढ गठबन्धनसँग मिलेर अगाडि बढेको आरोप लगाउँदै आएका छन् ।

    आयोगले बोलाएको बैठकको सुरुमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राजनीतिक दलहरूलाई निर्वाचन आचारसंहिता प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न भनेका थिए । केही साना राजनीतिक दलहरूले छलफल हुनुपर्ने माग गरेपछि थपलियासहित अरु केही आयुक्तहरूले समेत छलफलका लागि नभई हस्ताक्षर गराउन बोलाएकाले सोही काम गर्न भनेपछि विवाद झनै बढेको थियो ।

     


    मंगलवार, चैत्र २२ २०७८०३:२५:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij