काठमाडौँ । सरकारले गरेको एआईजी बढुवाविरुद्ध तीनै डीआईजीका रिट निवेदन आज न्यायाधीश कुमार रेग्मीकै एकल इजलासमा पेसी तोकिएको छ । यसअघि आइतबार पनि ईश्वरबाबु कार्कीको रिट निवेदन सुनुवाइ गर्न रेग्मीकै इजलासमा पेसी तोकिएको थियो । तर हेर्न नमिल्ने भन्दै सुनुवाइ गरिएन ।
ईश्वरबाबुसँगै अरु दुई डीआईजी घनश्याम अर्याल र प्रकाशजंग कार्की पनि एकैदिन बिहीबार रिट निवेदन लिएर सर्वाेच्च पुगेका थिए । तर त्यस दिन ईश्वरबाबु कार्कीको निवेदन मात्रै दर्ता भयो । जसको पेसी आइतबार तोकियो तर सुनुवाइ भएन ।
सर्वाेच्च अदालतमा गोलाप्रथाबाट पेसी र इजलास तोक्ने गरिन्छ । त्यस क्रममा आज तीनै डीआईजीको रिट निवेदन रेग्मीकै इजलासमा परेको हो ।
कार्कीको रिट निवेदन हेर्न नमिल्ने भए पनि अरु दुई रिट निवेदनमा आज सुनुवाइ हुने सम्भावना छ । सरकारले वरीयता मिचेर कनिष्ठलाई बढुवा गरेको भन्दै असन्तुष्ट तीन डीआईजी सर्वोच्च अदालत गुहार्न पुगेका हुन् ।