काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्न नेपाली काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन छलफलमा जुट्दै छ । भारत भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएपछि तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्न भोलि बैठक बस्ने भएको छ ।
गठबन्धनको एउटा घटक राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बैठकको मिति तय भए पनि समय तय हुन बाँकी रहेको बताउनुभयो । १७ चैतमा आगामी स्थानीय निर्वाचनमा तालमेल गर्ने गठबन्धनले निर्णय गरेयता प्रदेशदेखि पालिका स्तरमै तालमेल र त्यसको मोडालिटीबारे छलफल सुरू भएको छ ।
तर, तालमेलबारे गठबन्धनको नेतृत्व दल कांग्रेसभित्र असन्तुष्टि देखिएको छ । डा शेखर कोइराला पक्षले कांग्रेस एक्लै निर्वाचनमा जानुपर्नेमा जोड दिँदै तालमेल हुँदा माओवादीलाई मत माग्न नसकिने जनाएको छ ।
गठबन्धन विरोधी अभिव्यक्ति आएपछि माओवादी पनि त्यति सन्तुष्ट छैन । नेता वर्षमान पुनले माओवादी–एमालेबीच तालमेलबारे छलफल भइरहेको बताइसक्नुभएको छ । तैपनि गठबन्धनलाई थप मजबुत बनाएर लाने गठबन्धनका शीर्ष नेताहरूले बताउँदै आएका छन् ।