Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

नेता गालीगलौजमा व्यस्त, कार्यकर्ता ताली पिट्नैमा मस्त !

नेता गालीगलौजमा व्यस्त, कार्यकर्ता ताली पिट्नैमा मस्त !

  • आइतवार, चैत्र २० २०७८

  • 465
    SHARES

  • नेता गालीगलौजमा व्यस्त, कार्यकर्ता ताली पिट्नैमा मस्त !

    काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै गाउँ केन्द्रित भएका राजनीतिक दलका शीर्ष नेताहरु जनसरोकारका मुद्दामा भन्दा एकअर्का विरुद्धको गालीगलौजमा तल्लीन देखिएका छन् । प्रधिनिधि सभा विघटनपछि कांग्रेस–माओवादीसहितको पाँच दलीय गठबन्धन र नेकपा एमाले गरी मुख्य दुई ध्रुबमा विभाजित भएका दलहरु अहिले जनतासामू आफूलाई सही सावित गर्न एकअर्काविरुद्ध विष वमन गरिरहेका छन् ।

    स्थानीय निर्वाचनमा गठबन्धनलाई कायम राख्ने निर्णय गरेर अघि बढेका सत्तारुढ दलहरुविरुद्ध प्रमुख प्रतिपक्षी एमालेका शीर्षनेतादेखि तल्ला तहका नेता–कार्यकर्ता खनिने गरेका छन् । पाँच दलीय सत्ता गठबन्धनले गति छाडेको एमाले अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी छ । आज बुद्धिजीवी परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले सत्ता गठबन्धन कायम रहेकोप्रति आक्रोश पोख्नुभयो ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र माधव नेपालको चर्को आलोना गर्दै ओलीले आफ्नै सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएको बताउनुभयो । हिजोका शेर आज कांग्रेसको पछिपछि दुना थापेर हिँड्ने भिखमंगाहा भएको ओलीको टिप्पणी छ ।

    अहिले नेता–कार्यकर्तालाई सुस्ताउने र योजनाहीन भएर बस्ने छुट नभएको ओलीको निर्देशन छ । पाँच दलीय गठबन्धनले मुड्की उठाएर एमालेलाई पाँचतिरबाट घेरिरहेको भन्दै मज्जाको एउटा रावन किक् दिएर ढाल्ने ओलीको दाबी छ ।

    प्रमुख प्रतिपक्षी दलमात्र नभई सत्ता गठबन्धनआवद्ध दलका नेताहरु पनि गालीगलौजको मामिलामा कम देखिएका छैनन् । चुनाव लक्षित कार्यक्रमकै शिलशिलामा आज महोत्तरी पुग्नुभएका माओवादी अध्यक्ष प्रचण्डले केपी ओलीप्रति लक्षित गर्दै अहिले पनि परिवर्तन उल्ट्याउन षड्यन्त्र गरिहेको बताउनुभयो ।

    हिजो ‘नेपालमा गणतन्त्र आउनु र बयलगाढा चढेर अमेरिका पुग्नु एउटै हो’ भन्नेहरु आज पनि मुलुकमा प्राप्त उलब्धि उल्ट्याउने खेलमा रहेको भन्दै प्रचण्डले ओलीप्रति कटाक्ष गर्नुभयो ।

    यस्तै, सत्ता गठबन्धनसम्बद्ध अर्को दल नेकपा एकीकृत सममाजवादीका अध्यक्ष माधव नेपालले पनि तुच्छ शब्दको सहारा लिएर प्रतिपक्षीको चर्कै आलोचना गर्नुभयो । आज धनगढी पुग्नुभएका उहाँले पाँच दलीय गठबन्धन चुनावमा पनि कायम रहने कुराले जनता उत्साहित भए पनि विपक्षीको मुख चाउरिएको, निन्द्रा हराम भएको र दिमागसमेत विग्रेको टिप्पणी गर्नुभयो ।

    चुनाव केन्द्रित देशदौडाहमा व्यस्त दलका शीर्ष नेताहरुको भाषणमा राजनीतिक विचारको बहस, मुलुक बनाउने दृष्टि र नागरिकको चिन्ता भने देखिँदैन । जनताको मुद्दामा केन्द्रित हुनुपर्ने शीर्ष नेताका भाषा र भाषण तुच्छ र तल्लो स्तरका शब्दमा सीमित हुँदा पनि तल्लो तहका नेता–कार्यकर्ता भने ताली पिट्नैमा मस्त देखिन्छन् ।


    आइतवार, चैत्र २० २०७८०८:१३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij