काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सत्ता गठबन्धनमा आबद्ध दलबीच निर्वाचनसम्म गठबन्धनलाई असर पर्ने गरी अभिव्यक्ति नदिने सहमति भएको छ ।
गठबन्धन नेताको आइतबार डडेलधुरामा बसेको बैठकले स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय समेत गरेको छ । बैठकले गठबन्धनले केन्द्रमा गरेको निर्णयको स्वागत गरेको छ ।
“निर्वाचनको सवालमा निरन्तर छलफल जारी राख्ने निष्कर्षमा पुगेका छौँ,” नेपाली कांग्रेस डडेलधुराका सचिव हेमराज चटौतले भने, “निर्वाचनसम्म गठबन्धनलाई प्रभाव पार्ने कुनै पनि विचाररअभिव्यक्ति कसैले नदिने निर्णय भएको छ ।”
नेकपा (एकीकृत समाजवादी)का नेता डा. तारा जोशीले डडेलधुरामा गठबन्धनको मर्मअनुरूप छलफल प्रारम्भ भएको जानकारी दिए । “गठबन्धनको मर्मअनुरूप कामको थालनी भएको छ,” डा. जोशीले भने, “हामी गठबन्धनका दलबीच एकखाले भद्र सहमति भएको छ ।”
कांग्रेस डडेधुराका पूर्वसभापति रघुवीर भट्टले गठबन्धनको निर्णय नमान्नेले पार्टी छोडेर जान सक्ने भन्दै हिम्मत भए स्थानीय तह निर्वाचनमा उमेदवार भएर देखाउन चेतावनी दिए ।