Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images
प्रधानमन्त्रीको भारत भ्रमण

उठे महत्वपूर्ण मुद्दा, कार्यान्वयनमा चुनौती !

उठे महत्वपूर्ण मुद्दा, कार्यान्वयनमा चुनौती !

सीमा विवादलाई राजनीतीकरण नगरी जिम्मेवारीपूर्ण ढंगले संवाद गर्न भारत तयार
  • शनिवार, चैत्र १९ २०७८

  • 367
    SHARES

  • उठे महत्वपूर्ण मुद्दा, कार्यान्वयनमा चुनौती !

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दुई देशबीच विभिन्न महत्वपूर्ण बिषयमा छलफल तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । पाँचौं पटक प्रधानमन्त्री भएपछि पहिलो पटक देउवा दिल्ली पुग्नुभएको छ ।

    चार वर्षपछि भएको प्रधानमन्त्रीस्तरीय वार्तामा मुख्य समस्याका रुपमा रहेका सीमा विवादको बिषयले पनि प्रवेश पाएको छ । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भएको वार्तामा सीमा विवादको विषयले पनि प्रवेश पाएको हो ।

    दुई देशका प्रधानमन्त्रीबीचको वार्तापछि भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले सीमा समस्याका विषयमा समकक्षी मोदीसँग छलफल भएको बताउनुभयो । आफूहरुले दुई देशबीचमा भएको सीमा मुद्दाका विषयमा छलफल गरेको र मोदीले द्वीपक्षीय संयन्त्र स्थापित गरेर छलफल गर्नेबारे आफूहरु सहमत भएको प्रधानमन्त्री देउवाले बताउनुभयो ।

    प्रधानमन्त्री देउवाले सीमा विवादबारे द्वीपक्षीय संयन्त्र स्थापित गरेर छलफल गर्न आफूहरु सहमत भएको बताइरहँदा यस विषयमा भारतीय प्रधानमन्त्री मोदीले भने मुख खोलेनन् ।

    प्रधानमन्त्री मोदी मौन रहेपनि केही घण्टापछि भारतीय विदेश मन्त्रालयले धारणा सार्वजनिक गर्दै सीमा विवादको बिषयलाई राजनीतीकरण गर्न नहुने बताएको छ । प्रधानमन्त्री देउवाको भारत भ्रमण अन्र्तगत भएका छलफलबारे जानकारी दिन भारतीय विदेश मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा विदेशसचिव हर्ष श्रृङ्गलाले सीमा विवाद हल गर्न जिम्मेवारीपूर्ण ढंगले संवाद हुनुपर्ने बताएका हुन् ।

    भारतले साँढे दुई बर्षअघि नेपाली भूमि कालापानी क्षेत्र समेटेर राजनीतिक नक्सा ल्याएको थियो भने त्यसको ६ महिनापछि नेपालले पनि कालापानीलाई राजनीतिक नक्सामा समेटेको थियो । त्यसयता नेपालले सीमा समस्या हल गर्न भारतलाई पटक—पटक आग्रह गरेपनि भारतले सीमा वार्ताका लागि रुची देखाएको छैन ।

    अर्कोतिर यही दुई बर्षको बीचमा भारतले कालापानी नजिकको लिपुलेक क्षेत्र हुंदै चीनको तिब्बत जाने सडक निर्माण गरिसकेको छ । त्यसप्रति नेपालले विरोध जनाएपनि भारतले आफ्नो अडान छोडेको छैन । यी विविध समस्याहरुलाई यथावत राखेर भारतसँगको सम्बन्ध नसुध्रिने प्रमुख प्रतिपक्षी नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराई बताउनुहुन्छ ।

    दुई देशका प्रधानमन्त्रीबीच आज चार सम्झौतामा हस्ताक्षर पनि भएको छ । आज नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति, नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच प्रविधिक विज्ञता आदान–प्रदानबारे सम्झौता भएको हो ।

    प्रधानमन्त्रीद्वयले विभिन्न मुद्दा उठाउँदै त्यसले दुई देशबीचको सम्बन्धन अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन् । तर मुद्दा उठाउनुभन्दा त्यसलाई दुवै मुलुकको हितमा हुने गरी कार्यान्वयन गर्नु चुनौतीको बिषय भएको कूटनीतिज्ञहरु बताउँछन् । प्रधानमन्त्रीबीचको भेटवार्तामा उठेका मुद्दा सकारात्मक रहेको बताउँदै त्यसलाई कार्यान्वयनमा जोड दिनुपर्ने पूर्वराजदुत एवं विश्लेषक लोकराज बराल बताउनुहुन्छ ।

    प्रधानमन्त्री देउवा र समकक्षी मोदीले नयाँ दिल्लीबाटै आज भर्चुअल माध्यममार्फत सोलु करिडोर प्रसारण लाइन आयोजना उद्घाटन गरेका छन् । भारतको तीन अर्ब २० करोड रुपैयाँ सहुलियत ऋणमा निर्मित ९० किलोमिटर लामो सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजना उद्घाटन गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।

    यसअघि आजै दुई देशका प्रधानमन्त्रीले नेपाल रेल सेवाको संयुक्तरुपमा उद्घाटन गरेका थिए । भारतीय सहयोगमा निर्मित नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर लामो सीमापार रेल लिंक उद्घाटन गरेका हुन् । यसलाई पनि उपलब्धि नै मान्नुपर्ने कूटनीतिज्ञहरु बताउँछन् ।


    शनिवार, चैत्र १९ २०७८०८:११:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij