काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचनमा गण्डकी प्रदेशमा सिट संख्या घट्ने प्रक्षेपण गरेको छ । काठमाडौँमा जारी पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा प्रदेश अध्यक्ष नवराज शर्माले रिपोर्टिङ गर्दै १२ स्थानीय तह गुम्न सक्ने बताउनुभएको हो । ०७४ को निर्वाचनमा एमाले ३९ स्थानीय तहमा विजयी भएको थियो । अहिले २७ स्थानीय तह जित्ने अध्यक्ष शर्माले बैठकमा रिपोर्टिङ गर्नुभएको हो ।
एमालेले कर्णाली प्रदेशमा भने दुई सिट वृद्धि गर्ने प्रक्षेपण गरेको छ । केन्द्रीय कमिटी बैठकमा रिपोर्टिङ प्रस्तुत गर्दै कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले आगामी स्थानीय तह निर्वाचनमा २९ स्थानीय तह जित्ने दाबी गर्नुभएको हो । तर, एमाले एक्लै लड्नुपर्नेमा उहाँले जोड दिनुभयो । यसअघि, ०७४ को स्थानीय तह निर्वाचनमा एमालेले २७ सिट जितेको थियो । गठनबन्धन गरेर गए १५ स्थानीय तह जित्ने अध्यक्ष शाहले बताउनुभयो ।
यस्तै, लुम्बिनी गठबन्धन गर्न नहुने प्रक्षेपण गरिएको छ । बैठकमा प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले रिपोर्टिङ गर्दै निर्वाचनमा अरू पार्टीसित तालमेल गर्न उपयुक्त नहुने बताउनुभयो । कँडेलका अनुसार गठबन्धन गरे पार्टीलाई प्रदेशमा २४ सिट घाटा हुनेछ ।
उहाँका अनुसार १०९ स्थानीय तह भएको लुम्बिनीमा एमाले एक्लै लडे ६५ स्थानीय तहमा जित हासिल गर्न समस्या छैन । तर, गठबन्धन गरेर गएमा ४१ सिट मात्र जित्न सकिने अवस्था रहेको प्रदेश अध्यक्ष कँडेलको भनाइ छ । अन्य प्रदेशका अध्यक्षहरुले बैठकमा रिटर्पोटिङ गर्ने क्रम जारी छ ।