काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय सरकार सहज ढंगले चलाउन पनि स्थानीय तहको बहुमत स्थानमा चुनाव जित्नुपर्ने बताएका छन् । ओलीले स्थानीय तहमा बहुमत ल्याउनका लागि भूमिका खेल्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिए ।
आगामी निर्वाचनहरू महत्वपूर्ण भएको र त्यसमा पनि स्थानीय तहको निर्वाचन झनै महत्वको रहेको ओलीको भनाइ थियो । उनले स्थानीय तहको निर्वाचनलाई विजयी गराउने योजना तर्जुमा गर्नका लागि केन्द्रीय समिति बैठक बोलाइएको बताए ।
स्थानीय तह विकासका लागि महत्वपूर्ण रहेको ओलीको भनाइ थियो । ’केन्द्रमा बहुमतको सरकार बनेपछि पनि आखिर विकास केन्द्रीय केही आयोजना बाहेक जनताको घरदैलोमा पुर्याउने त स्थानीय तहहरू हुन्,’ उनले भने, ’स्थानीय तहको निर्वाचनमा हामीले महत्वपूर्ण ठाउँहरूमा र आम रूपमा बहुमतसाथको विजय हासिल गर्न सकेनौं भने हामीले बहुमत प्राप्त गर्दा पनि सहज नहुने स्थिति हुन्छ । त्यसकारण हामीले यसमा बहुमत प्राप्त गर्नुपर्नेछ ।’
एमाले मुलुकको ठूलो पार्टी भएको र भ्रम फैलाउनका लागि कम्युनिस्ट पार्टीहरूमा मात्रै ठूलो भनिने गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा एमाले अग्रणी पार्टी हुँदा पनि सत्तापक्षले त्यसको गलत प्रचार गरेको ओलीको भनाइ थियो ।
लोकतान्त्रिक विरासत एमालेसँग रहेको दाबी गर्दै ओलीले त्यसको अभिभारा पूरा गर्न लाग्नुपर्ने बताए । उनले समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्नका लागि खट्न नेताहरूलाई निर्देशन दिएका थिए ।
ओलीको सम्बोधनसँगै एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । स्थानीय तह निर्वाचनमा पार्टीले लिने रणनीति तय गर्नका लागि बैठक बोलाइएको हो । स्थानीय तहको निर्वाचन बैशाख ३० गतेका लागि घोषणा गरिएको छ र त्यसअघि केन्द्रीय समितिको अर्को बैठक नबस्ने पनि अध्यक्ष ओलीले बताए ।
ओलीले स्थानीय तह निर्वाचनमा संगठनात्मक, प्रचारात्मक र अरू पक्ष कसरी अगाडि बढाउने यसै बैठकले तय गर्ने बताए । भोलीसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा विभिन्न प्रतिवेदन पेश गर्ने लगायत कार्यसूची छ ।