काठमाडौँ । काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा आज होली पर्व मनाइँदै छ । आजको दिनमा उत्सवका रुपमा एक आपसमा रंङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षाेल्लहासका साथ मनाइने गरिन्छ ।
यस दिन आफन्त तथा मन मिलेका साथीबीच प्राकृतिक रूपको अबिर तथा पानीको पिच्कारी एक आपसमा छ्यापाछ्याप गरिन्छ । भगवान् विष्णुभक्त प्रल्हादलाई मार्न विष्णुका विरोधी दुष्ट हिरण्यकश्यपुले होलिकाको काखमा राखेर आगोमा होम्दा होलिका मरेकी तर प्रल्हाद जीवित रहेको पौराणिक कथन यो पर्वसँग जोडिएको छ ।
आज पहाड तथा हिमाली क्षेत्रमा मनाइने होली पर्व भोलि तराई मधेशमा मनाइँदै छ ।
होली पर्वका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्नुभएको छ । यही विविधताबीचको एकता नै नेपालीको पहिचान र सामथ्र्य बनेको बताउँदै उहाँले त्यसले सम्पूर्ण नेपालीबीच आपसी प्रेम, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
अन्यायमाथि न्यायको, दुराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुशियालीमा मनाइने सांस्कृतिक पर्व होलीले समाजमा विद्यमान दुष्प्रवृत्तिलाई पराजित गर्दै सत्य र न्यायका पक्षमा अविचलितरूपले क्रियाशील रहन प्रेरणा प्रदान गर्ने विश्वास पनि राष्ट्रपतिको सन्देशमा व्यक्त गरिएको छ ।
यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि होलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमार्फत प्रधानमन्त्रीले होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्नुभएको छ ।
यही विविधताबीचको एकता नै नेपालीको पहिचान बनेको उहाँको भनाइ छ । प्रधानमन्त्री देउवाले कोभिड–१९ को सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरुलाई अवरोध नहुने गरी मर्यादितरूपमा होली पर्व मनाउन आग्रहसमेत गर्नुभएको छ ।