काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नागरिक रिझाउने होटबाजीमा दलहरु जुटेका छन् । चुनावी नतिजा हात पार्न आन्तरिक रणनीतिमा जुटेका उनीहरुले आ–आफ्नो पक्षमा जनमत बलियो रहेको दाबी गर्दै आएका छन् । चुनावी तालमेलबारे सत्ता गठबन्धन अलमलकै स्थितिमा रहेका बेला प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने आगामी निर्वाचनबाट फेरि आफू पहिलो शक्तिका रुपमा उदाउने दाबी गरेको छ ।
गठबन्धनभित्र चुनावी तालमेल नभए प्रतिस्पर्धामा सहज हुने अपेक्षा बोकेको एमालेले ७० प्रतिशत स्थानीय तहमा फेरि आफूले बाजी मार्ने बताएको छ । स्वास्थ्य प्रतिस्पर्धा हुुनुपर्नेमा जोड दिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरु एक्लैले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने दाबी गर्नुभएको छ ।
सत्तारुढ गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसभित्र चुनावी तालमेलबारे मतैक्यता छैन । यद्यपि कांग्रेसले एक महिने अभियानमार्फत पार्टीप्रतिको जनमतको परीक्षण तथा मुल्यांकण गरिरहेको छ । गाउँ–टोलको स्थितिबारेको बुझ्ने र आफू कमजोर रहेको पालिकामा मात्र अन्य दलसँग तालमेल गर्ने नभए बढी सिट जित्न एक्लै निर्वाचनमा होमिने कांग्रेसको योजना छ ।
एमालेले ७० प्रतिशत स्थानीय तहमा जित्ने दाबी गरिरहँदा एक्लाएक्लै प्रतिस्पर्धा गर्दा पनि आफूहरु कमजोर नहुने कांग्रेस प्रवक्ता प्रकाशशरण महतको दाबी छ । तर चुनावमा गठबन्धन गरेर जाने सम्भावना भने जिवित्तै रहेको उहाँले बताउनुभयो ।
यता, सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने निर्वाचनमा चुनावी तालमेल हुनै पर्ने पक्षमा छन् । गठबन्धन जोगाउकै लागि एमसीसी संसदबाट अनुमोदन गर्न तयार भएका दलहरुले आफूहरु एक्लै प्रतिस्पर्धा गर्न पनि पछि नपर्ने भने बताउने गरेका छन् ।
तर गठबन्धन अहिले सही ढंगले नै अगाडि बढिरहेको भन्दै आगामी निर्वाचनमा तालमेल हुनेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आशावादी हुनुहुन्छ । गठबन्धनभित्र मुल नेतृत्व पङ्ति नै एक भएर जाने पक्षमा रहेकोले कांग्रेस भित्रको विमतिले खासै फरक नपार्ने प्रचण्डको विश्वास छ ।
आगामी निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा उभिएको अर्को पार्टी हो, नेकपा एकीकृत समाजवादी । नेकपा एमालेले गठबन्धन तोड्न अनेक उपाय लगाए पनि यो कायम रहने एकीकृत समाजवादीका उपमहासचिव गंगलाल तुधार बताउनुहुन्छ । गठबन्धन तोड्न खोज्नुले नै एमाले कमजोर छ भन्ने कुरा पुष्टि गर्ने तुलाधरको भनाइ छ ।
जनमत कसको पक्षमा बलियो छ भन्ने कुराको पुष्टि निर्वाचनको नतिजा सार्वजनिक भएपछि मात्र थाहा हुन्छ । तर राजनीतिक दलहरु भने चुनाव आउन दुई महिना बाँकी छँदै जितको स्वघोषणा गर्नमा प्रतिस्पर्धा गरिरहेको छन् ।