काठमाडौँ । लामो रस्साकस्सीपछि अमेरिकी अनुदान सम्झौता एमसीसी संसदबाट अनुमोदन भएको दुई हप्ता बितिसक्दा पनि यसको पक्ष र विपक्षको बहस भने सेलाएको छैन । एमसीसीकै बिषयलाई लिएर अहिले पनि तल्लो तहका नेताहरुदेखि प्रधानमन्त्रीसम्म एकअर्काविरुद्ध तुच्छ र तल्लो स्तरका टिप्पणी गर्नमै व्यस्त देखिन्छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको बिषयलाई लिएर सार्वजनिक कार्यक्रममै नेकपा एमालेका नेता भीम रावललाई ‘दिमाग खुस्केको’ भनेर तुच्छ टिप्पणी गर्नुभएको छ । नेता रावलकै पार्टी एमालेले संसदमा दर्ता गरेको एमसीसी प्रस्ताव अनुमोदन गर्दा एमालेकै नेताहरूले टाउको दुखाउन जरुरी नभएको उहाँले बताउनुभएको छ ।
आज नुवाकोटको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संसदमा पेस भएको प्रस्ताव नै अहिले पारित भएको भन्दै सांसद रावलप्रति असन्तुष्टि मात्र पोख्नुभएन तुच्छ शब्द प्रयोग गर्दै दिमाग खुस्केको र दुईजिब्रेको संज्ञासमेत दिनुभयो ।
प्रधानमन्त्री देउवाले सत्तामा हुँदा एमसीसी अघि बढाउनेले अहिले विरोध गर्नुको अर्थ नरहेको बताइरहँदा एमाले नेता रावलले पनि जवाफ फर्काउनुभएको छ । नेपाली रेडियो नेटवर्कलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले प्रधानमन्त्रीले एमसीसीका राष्ट्रघाती प्रावधानबारे जवाफ दिन सक्ने ल्याकत नदेखाएर गालीगलौजमा उत्रिनु देशकै लागि दुर्भग्य भएको बताउनुभयो । देउवाको उक्त अभिव्यक्तिले देशले कुन स्तरको प्रधानमन्त्री पाएको रहेछ भन्ने कुरा प्रष्ट पारेको उहाँले बताउनुभयो ।
ओली पहिलो पटक प्रधानमन्त्री हुँदा आफू उपप्रधान तथा रक्षामन्त्री रहेको तर त्यसबेला कुनै हालतमा एमसीसी सम्झौता सदनमा नल्याइएको नेता रावलको जिकिर छ । प्रधानमन्त्री यस्ता सार्वजनिक तथ्यको जानकारी समेत नराखी झूठा बोलेको भन्दै नेता रावलले प्रधानमन्त्रीको आफ्नै ‘दिमाग खुस्केर’ होस हराएको टिप्पणी गर्नुभयो । विगतमा महाकाली, कोशी, गण्डकी जस्ता विभिन्न राष्ट्रघाती सन्धी कांग्रेसले गरेको भन्दै उहाँले देउवामा निहित स्वार्थ मात्र रहेछ भन्ने कुरा अहिलेको आक्रोशपूर्ण अभिव्यक्तिले छर्लंग पारेको बताउनुभयो ।
नेताहरुबीच यस किसिमका तुच्छ र तल्लो स्तरका टिक्काटिप्पणी गरागर गर्नु नौलो बिषय भने होइन । अहिले नेताहरुमा स्वार्थ हाबी हुनका साथै राष्ट्रहित र व्यवस्थाको मजबुतीका बारेमा बहस नुहँदा व्यक्तिगत टिक्काटिप्पणीमै उनीहरु रमाएका राजनीतिक विश्लेषक लोकराज बराल बताउनुहुन्छ । यस्ता अभिव्यक्तिले नेताहरुको स्तरलाई प्रष्ट्याइरहेको विश्लेषक बरालको भनाइ छ ।
राजनीतिक विश्लेषक बरालको ठहर जस्तै यस्ता तुच्छ र तल्लो स्तरका अभिव्यक्तिले साँच्चै नै नेताहरुको स्तर, योग्यता, क्षमता र संवेदनशीलतामाथी प्रश्न खडा गरेकै छ । सार्वजनिक रुपमा प्रस्तुत हुने क्रममा शब्द छनोटमा चुक्दासमेत नेताहरुले पद गुमाउनु परेको उदाहरण हाम्रैसामू छन् । तसर्थः यस्ता बिषयमा स्वयम् नेताहरु सचेत र सजक हुन जरुरी छ ।