काठमाडौँ – एमालेलाई धुलोपिठो पार्ने घोषणा गरेका सत्ता गठबन्धनका दलहरु चुनाव नजिकिँदै गर्दा आपसमै भिड्न थालेका छन् । एमालेले वैशाख ३०को स्थानीय तहको चुनावका लागि आक्रामक तयारी थालेका बेला गठबन्धन दलका शीर्ष नेताहरु आपसमै भिड्न थालेका हुन् ।
सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस चुनावमा तालमेल गरेर जाने कि एक्लै भिड्ने भन्नेमा विभाजित भएपछि गठबन्धनमा दरार उत्पन्न भएको हो ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूलाई हराउन कांग्रेसीहरुले अभियान नै चलाएको आरोप लगाउनुभयो । एमालेले पनि आफ्नो निर्वाचन क्षेत्र इलामबाटै केपी ओलीको उपस्थितिमा अभियान सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो ।
खनालले निर्वाचनमा कांग्रेस र एमालेहरु बोरामा पैसा बोकेर आउने भन्दै सचेत रहन जनसमुदायलाई आग्रह गर्नुभयो । हिजो अस्तीसम्म गठबन्धन मिलेरै चुनावमा जाने र त्यसका लागि आफूहरुबीच लगभग सहमति जुटिसकेको दाबी गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि बोली फेरिएको छ ।
दाहालले अब आफ्नै बलबुतामा चुनाव जित्ने कुरालाई उच्च प्राथमिकता दिने नीति पार्टीले लिएको बताउन थाल्नुभएको छ । गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेलको कुरा आए सोच्न सकिने तर मूल रूपमा आफ्नै बलमा अगाडि बढ्ने नीति लिएको उहाँले बताउनुभयो ।
तर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दल मिलेर चुनावमा जाने र एमालेलाई धुलोपिठो बनाइने दाबी दोहो¥याउनुभयो । आफूहरुका सामू एमालेको भविष्य अन्धकार रहेको उहाँले बताउनुभयो ।
नेपालले स्थानीय तहमा तालमेल गर्दा एउटा पार्टीले प्रमुख, अर्कोले उपप्रमुख, एउटा वडाध्यक्ष र अर्कोले सदस्य लिएर गठबन्धन गर्न सकिने बताउनुभयो । उहाँले पनि नेकपा एस एक्लै जित्ने ठाउँमा एक्लै पनि चुनाव लड्ने बताउनुभयो ।
सत्ता गठबन्धनका लागि आपसमै भिड्न थालेका बेला प्रमुख विपक्षी एमाले भने आक्रामक रुपमा चुनावी प्रचार गरिरहेको छ । देशदौडाहामा रहेका अध्यक्ष ओलीले आगामी चुनावमा गठबन्धनलाई स्वाहा पार्ने उद्घोष गर्नुभयो ।
अहिलेको सरकारलाई बालुवामा रोपिएको मूलाका संज्ञा दिँदै ओलीले चुनावको मौका छोपेर उखेलेर फ्याँक्ने दाबी गर्नुभयो ।
कांग्रेस उपसभापति धनराज गुरुङले माओवादी र नेकपा एसलाई हात्तीको ठूलो कानमा ओत लाग्न खोज्ने चमेराको संज्ञा दिएपछि गठबन्धनभित्र अविश्वास पैदा भएको हो ।
गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रचण्डले अपमान नगर्न चेतावनी नै दिनुभएको थियो । त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गठबन्धनका दललाई अपमानजनक अभिव्यक्ति नदिन सार्वजनिक रुपमा कांग्रेसीहरुलाई चेतावनी नै दिनुभएको थियो ।