काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई ‘दशा लागेको’ टिप्पणी गरेका छन् । प्रचण्ड र नेपाल अहिले ढोका कुरेर बस्नुपर्ने अवस्थामा पुगेको पनि ओलीले टिप्पणी गरे ।
पोखरामा आयोजित पार्टी निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड र नेपाल ‘जंगे’बाट ’बुंगे’ बनेको टिप्पणी गरे । ‘हामीसँग झन्डै दुई तिहाइको सरकार थियो । तर प्रचण्ड र माधव नेपाललाई दशा लाग्यो । सरकार ढालेर गएर अहिले हेर्नुस् त बिचराहरु, ढोकाबाहिर पर्खेर बसेका हुन्छन् । भित्रबाट प्रसाद बाँड्न आउँछ कि भनेर ।’
ओलीले जनादेशको मजाक उडाउने काम भएको पनि बताए । ‘जनादेशको मजाक उडाइएको छ । सेटिङमा काम भइरहेको छ । केपी ओलीको सरकार ढाल्नु नै पर्छ भनेर अनेक षड्यन्त्र भए । विकासका विरोधीले ढाले । जन निर्वाचित सरकार ढाल्ने काम भयो,’ ओलीको भनाइ थियो ।